फाइल तस्बिर ।

हेटौंडाः हेटौंडा उपमहानगर क्षेत्रका सामुदायिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूर्वतयारी परीक्षा आगामी चैत १७ गतेदेखि सञ्चालन गर्ने भएको छ ।

शुक्रबार हेटौंडा–२ स्थित सिद्धार्थ माविको सभा कक्षमा नगरस्तीय शैक्षिक समन्वय समितिले प्रधानाध्यापकहरुको समेत उपस्थितिमा आयोजना गरेको बैठकमा पूर्वतयारी परीक्षाको मिति तय गरेको हो । पूर्वतयारी परीक्षा चैत २५ गतेसम्म चल्नेछ । विद्यालयका प्रधानाध्यापकको उपस्थितिमा छलफल गरेर पूर्वतयारी परीक्षाको मिति तय गरिएको नगरस्तरीय शैक्षिक समन्वय समितिका अध्यक्ष सागरप्रसाद खतिवडाले जानकारी दिनुभएको छ । हेटौंडा उपमहानगर क्षेत्रका ७१ सामुदायिक विद्यालय मध्ये ३१ वटा माध्यमिक तहका विद्यालय छन् ।

यस वर्ष १० कक्षामा ३ हजार ७ सय ३५ जना विद्यार्थी भर्ना भएको हेटौंडा उपमहानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख गंगाधर रिमालले जानकारी दिनुभयो । परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसईई २०७९ वैशाख ९ गतेदेखि सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको छ ।