हेटौंडाः हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसको ३२ औं स्थापना दिवसको अवसरमा तीनदिवसीय कार्यक्रम आजबाट सुरु भएको छ । विविध कार्यक्रम गरी क्याम्पसको स्थापना दिवस मनाइँदैछ । आज बिहान क्याम्पस प्रमुख देवचन्द्र मानन्धरको अध्यक्षता तथा क्याम्पस सञ्चालक समितिकी अध्यक्ष मुनु सिग्देलको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको छ ।
उद्घाटन कार्यक्रममा क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष कमानसिं पाख्रिन, सदस्य प्रदीप कोइराला, पूर्वक्याम्पस प्रमुख डा. वासु सुवेदीको पनि आतिथ्य रहेको थियो । क्याम्पसको स्थानपना दिवसको अवसरमा विद्यार्थीबीच खेलकुद प्रतियोगिताको आयोजना गरिएको छ ।
आज बिहान भएको छात्र दौड प्रतियोगितामा सागर लामा प्रथम, विवेक राना मगर द्वितीय, शेख स्याङ्तान तृतीय भएका छन् । यस्तै छात्रा दौडमा रोशनी घलान प्रथम, सुजता रेग्मी द्वितीय र अञ्चली थिङ तृतीय भएका छन् । आजै भएको डोरी तान्ने प्रतियोगितामा कक्षा १२ प्रथम भयो भने बीएड तेस्रो वर्ष द्वितीय भएको हेटौंडा क्याम्पसका अतिरिक्त क्रियाकलाप प्रमुख उपप्राध्यापक मनोज पोखरेलले जानकारी दिनुभएको छ ।










