हेटौंडाः विभिन्न जिल्लामा सवारी दुर्घटनासहित विभिन्न घटनामा परी २० जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले देशभरका प्रहरी कार्यालयबाट प्राप्त विवरणलाई बिहीबार नियमित बुलेटिनमा सार्वजनिक गरेको हो । दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ भने डुबेर, लडेर मृत्यु हुनुका साथै केही बेवारिसे अवस्थामा शव बरामद भएको प्रहरीले उल्लेख गरेको छ ।
रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ मा रा १ त १५६३ नम्बरको ट्याक्टर गिट्टी उठाएर ब्याक गर्ने क्रममा पल्टिएर बुधबार दिउँसो दुर्घटना हुँदा गिट्टी उठाउने काम गर्ने सोही ठाउँ बस्ने ४५ वर्षीय प्रेम परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका परियारको जिल्ला अस्पताल रुकुम पूर्वमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अछाम जिल्लाको रामारोशन गाउँपालिका–५ स्थित सडकमा सुदूर पश्चिम प्रदेश ०१–००२ त ५१७० नम्बरको ट्याक्टरले किच्दा सोही ठाउँ बस्ने ९ महिनाको खेमराज साउदको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हुम्ला जिल्लाको ताजाकोट गाउँपालिका–२ कवाडी बजारमा कर्णाली प्र–०२००१ ज ००४५ नम्बरको बोलेरो जिपको ठक्करबाट सोही गाउँपालिका–२ मैला बस्ने अन्दाजी ६ वर्षीय मनिष लुहारको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१३ मा से ५ प ३९४२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक गोदावरी नगरपालिका–५ का ३१ वर्षीय दल बहादुर भट्टराईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–१ देवीस्थानमा प्र ३–०१–००३ क ५२५८ नम्बरको टिपरको ठक्करबाट ४५ वर्षीय टिकाराम शिवभक्तीको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पाल्पा जिल्लाको रामपुर नगरपालिका–४ स्लामपुरस्थित सडकमा प्रदेश ३–०२–००८ प २९८५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–४, भिमसेनटोल बस्ने ४२ वर्षीय प्रेम बहादुर सार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको रामपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रामपुर नगरपालिका–५ बेझाड बस्ने ३५ वर्षीय जीवन श्रेष्ठलाई सोही अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ ।
महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित सडकमा स १ च १३९३ नम्बरको एम्बुलेन्सको ठक्करबाट साईकलयात्री गौशाला नगरपालिका–११ बस्ने ३५ वर्षीय तेजनारायण महतोको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गोरखा जिल्लाको सिरानचोक गाउँपालिका–३, चेपे नदीघाटको तिसमुरे पानीको दहमा डुबेर सिरानचोक–३, बयरपानी बस्ने ५२ वर्षीय सन्त बहादुर परियारको बुधबार दिउँसो मृत्यु भएको छ । झापा जिल्लाको शिवसताक्षी नगरपालिका–४ बुलुचोक बस्ने ४९ वर्षीय सन्चरिया ताजपुरिया आफ्नै घर छेउमा रहेको माछा पोखरीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । माछापोखरीमा डुबेर अशक्त भएका उनको उपचारका लागि बिएण्डसि अस्पताल बिर्तामोड हुँदै नोबेल अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–४ आनन्दनगर डेरा गरी बस्ने महोत्तरी मनरासिसवा नगरपालिका–४ घर भएका ३७ वर्षीय नरेन्द्र झा आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् । सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१ सकरदेहीस्थित कोशी नदीमा नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१२ स्थित जंगलमा नाम, थर, वतन नखुलेकी अन्दाजी २५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेको छ ।धादिङ जिल्लाको गजुरी गाउँपालिका–५, घाटबेशी सानो बाङगेमोड नजिकै त्रिशुली नदीमा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन ।
काठमाडौं महानगरपालिका–१६ बालाजु गंगाहलअगाडि सवारी साधनको ठक्करबाट काठमाडौंको तारकेश्वर नगरपालिका–१०, मनमैजु बस्ने रसुवा जिल्लाको कालिका गाउँपालिका–५ घर भएका १८ वर्षीय विकास तामाङ र बालाजु जनजागृतीटोल बस्ने ६० वर्षीया दुर्गामाया थापा मगरको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको जनमैत्री अस्पताल बालाजु हुँदै त्रिवि शिक्षण अस्पताल महाराजगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सुनसरी जिल्लाको बर्जु गाउँपालिका–१ बुक्डरीमा को २८ प ३८०७ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई बुधबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक २२ वर्षीय धनिलाल उरावको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराटनगर लाईफगार्ड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दाङ जिल्लाको घोराही उपमहानगरपालिका–१९, खानिगाउँ बस्ने ५५ वर्षीया ईन्द्रा कुमारी घर्ती मगर घर नजिकैको खोल्सामा बिहीबार मृत अवस्थामा फेला परेकी छन् । छिमेकीको घरबाट बुधबार बिहान घर फर्किने क्रममा बाटोबाट करिब १० मिटर तल खोल्सामा झरेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका–११ विजयनगरस्थित एनआरएस इँटाभट्टामा काम गर्ने मजदुर मृत फेला परेका छन् । कैलाली टिकापुर नगरपालिका–२ विजयनगर घर भएका शंकर चौधरीको छोरा २ वर्षीय सुहिर चौधरी बुद्धभूमि नगरपालिका–७ डेरुवास्थित इँटा उद्योगको कम्पाउण्डभित्र रहेको पोखरीमा बिहीबार मृत अवस्थामा फेला परेको हो । गत आइतबारदेखि हराएका सुहिरको खोजी गर्नेक्रममा उक्त पोखरीमा शव फेला परेको हो ।
बझाङ जिल्लाको साईपाल गाउँपालिका–२ ढलौन घर भई जयपृथ्वी नगरपालिका–१० चैनपुर बजारमा डेरा गरी बस्ने १७ वर्षीय कलक बोहराको सोही ठाउँस्थित बाउलिगाड खोलामा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ । उक्त खोलामा नुहाउने क्रममा पानीमा डुबेर अशक्त भएका उनलाई उद्दार गरी जिल्ला अस्पताल बझाङ लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
ललितपुर जिल्लाको ललितपुर महानगरपालिका–७ भिन्छेबहाल बस्ने ५६ वर्षीय राजु बज्राचार्यको ससुराली घरको छतबाट लडेर बिहीबार मृत्यु भएको छ । सोही महानगरपालिका–२० नटोलस्थित ससुरालीको ३ तले घरको छतबाट लडेर गम्भीर घाइते भएका उनको उपचारका लागि अल्का अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।










