केटा र केटीको उमेर नपुग्दै गरिने विवाहलाई बालविवाह भन्ने गरिन्छ । यस्तो विवाह कानुनीरुपमा दण्डनीयमात्र छैन, प्रजनन स्वास्थ्यको दृष्टिकोणबाट पनि जोखिमपूर्ण मानिन्छ । विगतमा धर्म, संस्कृति, परम्परागत मूल्य मान्यताका आधारमा आमाबाबुले जबर्जस्ती बालविवाह गरिदिने गरेका थिए । तर, पछिल्लो समय आमाबाबुको कारणभन्दा पनि बालबालिका स्वयम्मा विकसित हुने प्रेमसम्बन्ध बालविवाहको मुख्य कारण बनिरहेको छ । शिक्षा र सचेतनाका कारण अभिभावकले बालविवाह गर्न नहुने बुझ्दै गए पनि बालबालिका आफैं अबुझ बनिदिँदा बालविवाह रोकथाम चुनौतीपूर्ण बनिरहेको छ । बालविवाहकै कारण कम उमेरमा गर्भवती बन्ने र बच्चा जन्माउने अवस्थाले मातृशिशु स्वास्थ्यमा समस्या आउने गरेको पाइन्छ ।

जिल्लाको मकवानपुरगढी गाउँपालिका बालमैत्री स्थानीय तह घोषणाको तयारीमा छ । पूर्णसाक्षर घोषणा भइसकेको गाउँपालिकाले बालमैत्री घोषणाको तयारी गरिरहँदा पालिकाभित्र बालविवाह नियन्त्रण गर्न चुनौती बनेको छ । बालविवाहको भयावह अवस्थालाई गाउँपालिकाको स्वास्थ्य चौकीमा प्रसुती सेवा लिन आउने २० वर्षभन्दा कम उमेरका किशोरीको संख्याले पुष्टि गरिरहेको छ । मकवानपुरगढी गाउँपालिकाको स्वास्थ्य चौकीमा चालु आर्थिक वर्षको हालसम्म २० वर्षभन्दा कम उमेरको १४ जना सुत्केरी भएका छन् । स्वास्थ्य चौकीमा ९६ जनाले प्रसुति सेवा लिँदा २० वर्षभन्दा कम उमेरका १४ जनाले प्रसुति सेवा लिएको तथ्यांक छ । यो तथ्यांकअनुसार २० वर्ष नपुगी सुत्केरी हुने करिब १५ प्रतिशत हुन आउँछ । गाउँपालिकामा गत वर्ष पनि धेरै जनाले २० वर्ष नपुगी प्रसुति गराएको पाइएको छ । यसले बालविवाह गर्नेको संख्या अझ बढी हुनसक्ने अनुमान सहजै गर्न सकिन्छ ।

२० वर्षभन्दा कम उमेरमा विवाह गर्न तथा गराउन नपाउने ऐन कानुनलाई धज्जी उडाउँदै प्रत्येक वर्ष लाखौं बालविवाह भइरहेको छ । नेपालमा २० वर्षभन्दा कम उमेरका ४१ प्रतिशत बालिका र ११ प्रतिशत विवाह हुने गरेको तथ्यांक छ । नेपालको तराई, पहाड, हिमाल सबैतिर बालविवाह हुने गरेको छ । जसले गर्दा बालविवाह एक विकराल सामाजिक समस्या बनिरहेको छ । विवाह भनेको के हो ? महिनावारी हुने भनेको के हो ? उमेर नपुगी बच्चा जन्माउँदा के हुन्छ ? जस्ता सवालमा बालबालिका गम्भीर बन्न नसक्दा बालविवाह कम हुन सकेको छैन । बालबालिकालाई यस्ता कुराहरु बुझाउन अभिभावक नै सचेत हुनुपर्नेछ । मुलुकको तराई क्षेत्रमा व्याप्त दाइजो प्रथाका कारण पनि बालविवाहले प्रश्रय पाइरहेको मान्न सकिन्छ । उमेर पुगेपछि विवाह गरिदिँदा र अलि राम्रो दुलाहा खोज्दा दाइजोको समस्या अझै थपिँदै जाने भयले पनि बालविवाह हुने गरेको पाइन्छ ।

चुनौतीपूर्ण बनेको बालविवाह निर्मुल पार्न सरकारी निकाय र गैरसरकारी संस्थाहरु सक्षम देखिएका छैनन् । देशका तीन तहका सरकार र गैरसरकारी संस्थाहरु मिलेर स्वेच्छिक र बाध्यात्मक दुबै खालका बालविवाह अन्त्यका लागि क्रियाशील हुनुपर्छ । बालविवाह र पारिवारिक शिक्षासँग सम्बन्धित प्रभावकारी पाठ्यक्रम विद्यालय तहमा समावेश गरिनुपर्दछ । बालविवाहका विविध पक्षको बारेमा जनचेतनामूलक कार्यक्रम गाउँगाउँमा सञ्चालन गर्नुपर्छ । २० वर्षभन्दा कम उमेरमा विवाह गर्नेलाई कानुनी दायरामा ल्याएर सजाय गर्नुपर्छ । सानै उमेरमा बच्चा जन्माउँदा हुने पीडा र समस्याबारे बुझाउनु पर्छ । विशेषगरी स्थानीय सरकारले बालविवाहजस्ता सामाजिक समस्या अन्त्यका लागि उपयुक्त नीति, कार्यक्रम तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्छ ।