ओम प्रकाश यादव रौतहट , भदौ २३ । निर्धारित समय भन्दा केहि ढिलो गरी रौतहटको गुजरा नगरपालिकाको चौथो नगरसभा आईतवार सम्पन्न भएको छ । सरकारले तोके अनुसार सबै पालिकाले असाढ मसान्तमै नगर परिषद गरिसक्नुपथ्र्यो तर विभिन्न कारणले हुन नसकेको गुजरा नगरपालिकाको नगरसभा आईतवार भव्याताका साथ सम्पन्न भएको छ । नगरपालिकाकी उप प्रमुख नुरजहा खातुनको अध्यक्षता र नगर प्रमुख सन्तलाल चौधरीको प्रमुख आतिथ्यमा उक्त नगर परिषद सम्पन्न भएको छ । गुजरा नगर कार्यपालिकाको कार्यालय सिमराभवानीपुरको प्रांगनमा आयोजित चौथो नगरसभा कार्यक्रमलाई सम्बोधन गर्दै मेयर चौधरीले यस चालु आर्थिक वर्ष २०७६÷०७७ को लागि ४६ करोड भन्दा बढी बजेट प्रस्तुत गरेका छन । नगर प्रमुख सन्तलाल चौधरीले संघिय सरकारको वितिय समानिकरण १३ करोड ६८ लाख, संघिय सरकारको सर्शत अनुदान १२ करोड ९९ लाख, प्रदेश सरकारको वित्तिय समानिकरण ७५ लाख ५० हजार, प्रदेश सरकारको सर्शत अनुदान १ करोड, प्रदेश सरकारको विशेष अनुदान ३० लाख, प्रदेश सरकारबाट सम्पुरक अनुदान ४० लाख, राजश्व बाँडफाँडबाट ११ करोड २८ लाख, आन्तरिक आय तर्फ २ करोड ८९ लाख ३० हजार र गत वर्षको मौज्दात २ करोड ९३ लाख ७२ हजार ३२५ गरी कुल रकम ४६ करोड २३ लाख ५२ हजार ३२५ आय व्यय प्रस्तुत गरेका हुन । चलु आर्थिक वर्षमा चालु तर्फ २७ करोड १३ हजार ७६० र पुँजिगत तर्फ १९ करोड २३ लाख ३८ हजार ५७० खर्च हुने अनुमान गरिएको मेयर चौधरीले बताएका छन । नगरसभाले चालु आर्थिक वर्षको लागि नगरको आर्थिक विकास क्षेत्रमा ६६ करोड ४५ लाख, समाजिक विकास क्षेत्रमा १३ करोड ६ लाख ४६ हजार, पूर्वाधार विकास क्षेत्रमा १६ करोड ४९ लाख ८२ हजार, वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रमा २३ लाख र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा १५ करोड ७७ लाख ७९ हजार रकम विनियोजन गरेको हो । कर्मचारीको चरम अभाव र अन्य विभिन्न कारणले निर्धारित समयमा नगरसभा हुन नसकेको कार्यक्रमका प्रमुख अतिथि मेयर चौधरीले बताएका छन । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जामुन चौधरीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको नगरसभामा नगर कार्यापालिकाका सदस्यहरु, जनप्रतिनिधिहरु, संचारकर्मी, सुरक्षाकर्मी, भद्रभलादमी, राजनैतिककर्मी लगाएतका सहभागिता रहेको थियो ।