शैक्षिक सामग्री बनाउँदै शिक्षक ।

हेटौंडाः हेटौंडा–४, कर्रास्थित श्रमिक माविका शिक्षकहरु विद्यालयमा विद्यार्थी नभए पनि नियमित विद्यालय पुगिरहेका छन् । फागुन १ गतेदेखि विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन हुने निश्चित भएपछि शिक्षकहरु नियमित पठनपाठनमा उपयोगी हुने शैक्षिक सामग्री बनाउन व्यस्त छन् ।

हालै प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नु भएका श्रीराम दाहालले भौतिक रुपमा विद्यालय खुल्ने समयमा विद्यार्थीलाई आकर्षित गर्न केही सुधारको प्रयास भइरहेको जानकारी दिनुभयो । सरस्वती पुजाको दिन अक्षरारम्भ गराउने क्रममा प्ले ग्रुपमा सहभागी हुने केही बालबालिकाको नाम लेखाइएको छ । वडा कार्यालयबाट प्राप्त ४ लाख ५० हजार रुपैयाँ बजेटमध्ये दुई लाख ५० हजार रुपैयाँ खर्च गरेर प्ले ग्रुपको कक्षा बनाइएको छ भने विद्यालयको पेटी निर्माण, खानेपानीको धारा मर्मत, चिप्लेटी, पिङ राख्ने काम भएको प्रधानाध्यापक दाहालले बताउनुभयो । फागुन १ गतेदेखि नै प्ले ग्रुपको कक्षा सुरु गर्न शिक्षक र आयाको व्यवस्था गरिसकेको छ ।

प्ले ग्रुपका बालबालिकाका लागि तयार पारिएको कक्षाकोठा ।

कोभिड–१९ को तेस्रो लहरको संक्रमण तीव्र भएपछि विद्यालय बन्द हुँदा १ कक्षादेखि ५ कक्षासम्मका विद्यार्थीलाई वर्कसिटमा आधारित भएर नियमित पठनपाठन गराइरहेको प्रधानाध्यापक दाहालले जानकारी दिनुभएको छ । यस्तै ६ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीलाई अनलाइनमार्फत पठनपाठन भइरहेको उहाँले जानकारी दिनुभयो । अनलाइन कक्षामा ६० प्रतिशत विद्यार्थी सहभागी भइरहेको प्रधानाध्यापक दाहालले बताउनुभयो । अनलाइनमा सहभागी नभएका विद्यार्थीका बारेमा पनि टेलिफोनमार्फत बुझ्ने र सहभागी हुन प्रेरित गर्ने काम भइरहेको दाहालको भनाइ छ । श्रमिक माविमा अहिले ३ सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।