हेटौंडाः सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगको महाप्रवन्धकका लागि दरखास्त माग गरिएको छ । महाप्रबन्धकको पद रिक्त भएको एक महिना पुग्नै लाग्दा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले महाप्रवन्धक नियुक्तिका लागि गठन गरेको सिफारिस समितिले बुधबार सूचना प्रकाशित गरेको छ । प्रेम शंकर सिंहको कार्यकाल पुस मसान्तमा सकिएपछि हेटौंडा सिमेन्टको महाप्रबन्धक रिक्त रहेको छ ।

खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्तिका लागि २१ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ । महाप्रवन्धक पदका लागि आवेदन दिने व्यक्ति प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा स्नात्तकोत्तर तह उत्तीर्ण गरी व्यवस्थापकीय जिम्मेवारीको अधिृकतस्तरको पदमा कम्तिमा पाँच वर्षको अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख छ । आवेदकले व्यावसायिक कार्ययोजना समेत पेश गर्नुपर्नेछ ।

एक महिनादेखि महाप्रबन्धक रिक्त रहेको उद्योगले महाप्रबन्धक प्राप्त गर्न कम्तिमा ३ महिना लाग्ने बताइएको छ । सिफारिस समितिले आवेदक मध्ये ३ जना योग्य उम्मेदवारको नाम मन्त्रीपरिषद्मा पेश गर्नेछ । प्रस्तावित ३ जनामध्ये एकजनालाई मन्त्रीपरिषद्को निर्णयबाट प्रहाप्रवन्धक नियुक्त गर्नेछ । अहिले निमित्त महाप्रवन्धकको जिम्मेवारी नवीनकुमार कर्णलाई दिइएको हेटौंडा सिमेन्ट उद्योगको प्रशासन विभागका वरिष्ठ अधिकृत हरेराम आचार्यले जानकारी दिनुभएको छ ।