स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले नेपालमा कोभिडको तेस्रो लहरको प्रभाव कम हुँदै गएको देखाएको छ । संक्रमण दर कम भए पनि मृत्युदर भने घटेको छैन । तेस्रो लहरको सुरुवाती भन्दा अहिले कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दो छ । तर अस्पताल भर्ना र गम्भीर अवस्था हुनेको संख्या पनि कम छ । जसलाई समस्या भएको छ, उनीहरुले निकै कठिनाई भोग्नुपरेको तथ्यांकहरुले देखाएका छन् । कोरोनाविरुद्धको खोप लगाउनेहरु संक्रमित भए पनि अवस्था सामान्य नै रहने गरेको र खोप नलगाएकाहरु संक्रमित भए उनीहरुलाई समस्या हुने गरेको विज्ञहरुको दावी छ । यस कुराले कोरोनाविरुद्धको खोप लगाउनै पर्ने अनिवार्यता देखिएको छ ।
मृत्यु संख्या जे भए पनि संक्रमणमा कमी आएसँगै सरकारले दैनिक जीवन सहज बनाउन भन्दै लगाएका प्रतिबन्धहरु खुला गर्न थालेको छ । यातायातदेखि बजार क्षेत्र खुला नै छ । विद्यालयहरु पनि फागुन १ गतेबाट खोल्ने निर्देशन दिइसकेको छ । स्वास्थ्यका मापदण्ड पूरा पालना गर्न भनिएको छ । तर मानिसहरुले प्रतिबन्ध खुला गर्न दिएको निर्देशन सहर्ष स्वीकार गर्दछन् भने स्वास्थ्य मापदण्डसम्बन्धी निर्देशन उल्लंघन गरिरहेकै हुन्छन् । हामीहरुको यही अटेरीपनले फेरि जुनसुकै समयमा महामारी बढ्ने खतरा छ । सामाजिक जीवन खुला भए पनि कोरोना महामारी अझै सकिएको छैन भन्ने यथार्थ स्वीकार गरेर नै होशियारी अपनाउनु जिम्मेवार नागरिकको कर्तव्य हुन्छ ।
कोभिड संक्रमणको प्रतिशतमा कमी आउन थालेपछि मानिसहरुको भिडभाड हुने क्रियाकलाप बढेका छन् । खेलकुद गतिविधि पनि सुरु भएका छन् । अझ केही समयमै प्रतियोगिताहरु सञ्चालनको तयारी हुन थालेको पाइन्छ । एन्फाले सञ्चालन गरेका प्रतियोगिताहरुमा त दर्शकको उपस्थितिलाई अनुमति नै दिएको अवस्था छ । कोरोनासँगै बाँच्नुको विकल्प छैन । यसका लागि निश्चित मापदण्ड पूरा गर्नु पर्दछ । सबै मानिसले आफूबाहेक अरुलाई कोरोना पोजेटिभ छ भन्ने मान्यताबाट जोगिने प्रयास गर्ने हो भने निश्चिय नै महामारी फेरि फर्कन सक्नेछैन । तर केही कम हुनासाथ क्रियाकलापहरुलाई पूर्ववत् बनाउने गर्दा समस्या बल्झन सक्नेतर्फ सचेत हुनै पर्दछ । कोरोना सकिएको छैन, केही कम भएको मात्र हो ।
विद्यालय खुल्दै गर्दा स्वास्थ्य मापदण्ड पालना गराउनु आवश्यक छ । बालबालिका स्वभावले नै एक अर्कोसँग निकट हुने गर्दछन् । जसले गर्दा संक्रमण त्यहीबाट बृद्धि हुने खतरा छ । कक्षाकोठाको व्यवस्थापनदेखि स्वास्थ्य सामग्रीको उपलब्धता, शौचालयको व्यवस्थापन, साबुनपानी र त्यसको अनिवार्य प्रयोगजस्ता कुरामा विद्यालय प्रशासनबाट विशेष ध्यान दिन आवश्यक छ । दैनिक जीवन सहज बनाउने क्रममा जोखिम थप नबढोस् भन्नेतर्फ अभिभावकहरु पनि सतर्क हुनै पर्दछ । बजार क्षेत्रमा पनि मानिसहरुको उपस्थिति र गरिने व्यवहारमा अनुशासन आवश्यक छ । कोरोना मानिसको अनिवार्य तत्वका रुपमा रहन्छ र सँगै बाँच्नु पर्दछ भन्ने मान्यताबाट व्यवहार गर्ने बानीको अभ्यास गर्नु नै महामारीबाट जोगिने उपाय हुनसक्छ ।