Home मुख्य समाचार मकवानपुर रिकभरिङ समूहको पुनस्र्थापना केन्द्रका लागि भवन सिलान्यास

मकवानपुर रिकभरिङ समूहको पुनस्र्थापना केन्द्रका लागि भवन सिलान्यास

पुनस्र्थापना केन्द्र सञ्चालनका लागि भवनको सिलान्यास गर्नुहुँदै आनन्दराम पराजुली ।

हेटौंडाः लागुऔषध दूव्र्यसनहरुको पुनस्र्थापनाको कार्य गर्दै आएको मकवानपुर रिकभरिङ समूहले पुनस्र्थापना केन्द्र निर्माणका लागि सिलान्यास गरेको छ । आइतबार बसन्तपञ्चमीको अवसरमा हेटौंडा–७, नागस्वतीमा भवन निर्माणका लागि सिलान्यास गरिएको हो ।

सचेत नागरिक युवा समूहका अध्यक्ष शिवनारायण श्रेष्ठले भाडा नलिने गरी ३४ धुर जग्गा उपलब्ध गराउनुभएपछि रिकभरिङ समूहले भवन निर्माण थालेको हो । मकवानपुर रिकभरिङ समूहका सल्लाहकार समेत रहनुभएका श्रेष्ठले समाजकै समस्याको रुपमा रहेको दूव्र्यसनमा रहेका युवालाई पुनस्र्थापना गर्ने कार्यमा थोरै सहयोग गर्ने प्रयासस्वरुप भाडा नलिने गरी जग्गा उपलब्ध गराएको बताउनुभयो ।

अहिले हेटौंडा–५ स्थित भाडाको घरमा सञ्चालनमा रहेको पुनस्र्थापना केन्द्र सञ्चालनमा कठिनाई भएपछि पुनस्र्थापना केन्द्र सञ्चालनका लागि उपयुक्त भवन निर्माण गर्न सुरु गरिएको मकवानपुर रिकभरिङ समूहका प्रमुख सन्दीप शाक्यले जानकारी दिनुभएको छ ।

नेपाली कांग्रेसका नेता तथा मकवानपुर रिकभरिङ समूहका संरक्षक आनन्दराम पराजुलीले भवनको सिलान्यास गर्नुभएको हो । मकवानपुर रिकभरिङ समूहले सञ्चालन गरेको पुनस्र्थापना केन्द्रमा अहिले ४५ जना छन् । एक दशकदेखि मकवानपुर रिकभरिङ समूहले लागुपदार्थ दूव्र्यसनसम्बन्धी सचेतना अभिवृद्धिको कार्य गर्नुका साथै पुनस्र्थापना केन्द्र सञ्चालन गर्दै आएको छ ।

Exit mobile version