हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो एक सय दिनको मुख्य उपलब्धीबारे शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी गराउनुभएको छ । सामाजिक विकास मन्त्रालयको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पाण्डेले ६७ बुँदामा प्रमुख उपलब्धी बारे जानकारी गराउनुभएको हो ।
गत कात्तिक ११ गते नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) पार्टीको गठबन्धन सरकारको मुख्यमन्त्री नियुक्त हुनुभएका पाण्डेले सार्वजनिक गर्नुभएको प्रमुख उपलब्धीको विवरणमा सार्वजनिक विदा दिने निर्णयदेखि समिति गठन, ऐन, नियामावली, निर्देशिकाको मस्यौ तयारी, संशोधन, स्वीकृतिलाई प्रमुख उपलब्धीको सूचिमा समावेश गर्नुभएको छ ।
प्रमुख उपलब्धीको पहिलो बुँदामै सरकारको काम छिटो तथा पुँजीगत खर्च प्रभावकारीरुपमा वृद्धि हुने र जनताले सहज रुपमा सेवा प्राप्त गर्ने विश्वाससहित मन्त्रालय संख्या बढाइएको उल्लेख गर्नुभएको छ । मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको निर्णय कार्यान्वयन गर्न मन्त्रिपरिषद् समितिका संयोजक र सदस्य तोक्ने, चालु आर्थिक वर्षभित्रै जग्गा पहिचान गरी प्रदेश सरकारको प्रशासकीय भवन निर्माण कार्य सुरु गर्ने विषयलाई पनि प्रमुख उपलब्धीको रुपमा प्रस्तुत गर्नुभएको छ ।
अन्तर प्रदेश समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रमको आयोजनादेखि साइवर क्राइम, जातीय तथा लैंगिक हिंसा तथा चेलिबेटी बेचबिखनविरुद्धको सचेतनासम्बन्धी कार्यक्रम सञ्चालन गर्नुलाई पनि प्रमुख उपलब्धीको रुपमा प्रस्तुत गरिएको छ । प्रदेश सरकारको नियमित कार्यक्रमहरुलाई पनि उपलब्धीको रुपमा प्रस्तुत गर्नुभएका मुख्यमन्त्री पाण्डेले सीमान्तकृत चेपाङ समुदायको सम्मान गर्दै न्वागी पर्वमा विदा दिने निर्णय पनि प्रदेश सरकारको उपलब्धीको विषय भएको जीकिर गर्नुभयो । मुख्यमन्त्रीसहित उच्चस्तरीय टोलीले चितवन जिल्लाको शक्तिखोर औद्योगिक पार्क स्थापना गर्न स्थलगत निरीक्षणको कार्य पनि उपलब्धीको अन्तिम सूचिमा समावेश गरिएको छ ।
राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको बागमती प्रदेश सरकारको १०० दिनको प्रमुख उपलब्धीको पूर्णपाठः
100dayscmpandey