हेटौंडाः चार महिनाको अवधिमा मकवानपुरका १४ वटा विद्यालयमा नयाँ प्रधानाध्यापक नियुक्त भएका छन् । गत कात्तिकदेखि माघसम्म जिल्लाका विभिन्न पालिकाका १४ वटा आधारभूत तथा माध्यमिक विद्यालयहरुमा नयाँ प्रधानाध्यापक नियुक्ति गरिएको हो ।
मकवानपुरगढी गाउँपालिका–६, घोप्टेबेसीस्थित कालीदेवी आधारभूत विद्यालयमा देवकी तिमल्सिना प्रधानाध्यापकमा नियुक्त हुनुभएको छ । प्राथमिक तहको राहत दरबन्दी कार्यरत तिमल्सिना गत कात्तिक ७ गते प्रधानाध्यापक बन्नुभएको हो । शहीदस्मृति आधारभूत विद्यालय हेटौंडा–३, बसामाडीको प्रधानाध्यापकमा रामशरण दहाल नियुक्त हुनुभएको छ । गत कार्तिक १६ गते प्रधानाध्यापक नियुक्त हुनुभएका दहाल प्राथमिक तह तृतीय श्रेणीका शिक्षक हुनुहुन्छ ।
हेटौंडा–१, भैरबडाँडास्थित भैरब आधारभूत विद्यालयमा प्राथमिक तह द्वितीय श्रेणीका शिक्षक रमेशप्रसाद सुवेदी प्रधानाध्यापक नियुक्त हुनुभएको छ । सुवेदीलाई गत मंसिर ९ गते प्रधानाध्यापकको जिम्मेवारी दिइएको हो । यस्तै, बकैया–८ मा रहेको बकैया ठाकुर आधारभूत विद्यालयमा प्राथमिक तह तृतीय श्रेणीका शिक्षक बाबु रुम्बालाई तग मंसिर १० गते प्रधानाध्यापक नियुक्त गरिएको छ ।
हेटौंडा–१६, आकाशधारामा रहेको आकाशधारा पानीसारा आधारभूत विद्यालयको प्रधानाध्यापकमा प्राथमिक तह तृतीय श्रेणीका शिक्षक प्रेमबहादुर विश्वकर्मा मंसिर १३ गते प्रधानाध्यापक नियुक्त हुनुभएको छ । राक्सिराङ–४, विकुटारको जनजागृति आधारभूत विद्यालयको प्रधानाध्यापकमा प्राथमिक तहका शिक्षक तेजमान स्याङ्तानलाई प्रधानाध्यापकमा नियुक्त गरिएको छ ।
राक्सिराङ–७ को चरीमारा आधारभूत विद्यालय र दानराङ आधारभूत विद्यालयमा क्रमशः चन्द्रबहादुर प्रजा र मोहनलाल थिङ प्रधानाध्यापक बन्नुभएको छ । प्रजा र थिङ दुबैजना प्राथमिक तहको तृतीय श्रेणी शिक्षक हुनुहुन्छ । प्रजा र थिङलाई क्रमशः मंसिर २३ र पुस १३ गते प्रधानाध्यापकमा नियुक्त गरिएको हो । राक्सिराङ–९ को देवीथान आधारभूत विद्यालयमा गत पुस १८ गते प्राथमिक तह तृतीय श्रेणीका शिक्षक दितबहादुर घलानलाई प्रधानाध्यापकमा नियुक्त गरिएको छ ।
मनहरी गाउँपालिका–२, मकरीस्थित सीता माध्यमिक विद्यालयमा निमावि शिक्षक पवित्रा ढुंगानालाई प्रधानाध्यापकमा नियुक्त गरिएको छ । ढुंगाना गत पुस १९ गते प्रधानाध्यापक पदमा नियक्त हुनुभएको हो । बकैया–१२, धोत्रेदमारमा रहेको कालाभैरब आधारभूत विद्यालयमा प्राथमिक तहका शिक्षक चेतबहादुर घलेलाई मंसिर २० गते प्रधानाध्यापक नियुक्ति गरिएको छ । मकवानपुरगढी–४, शिखरकटेरीस्थित चण्डिका माध्यमिक विद्यालयमा कमल फुयाँललाई प्रधानाध्यापक बनाइएको छ । माध्यमिक तहको अनुदान कोटामा कार्यरत फुयाँललाई गत माघ ३ गते प्रधानाध्यापक पदमा नियुक्ति गरिएको हो ।
यस्तै, हेटौंडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयमा श्रीराम दाहाल प्रधानाध्यापक नियुक्त हुनुभएको छ । माध्यमिक तह तृतीय श्रेणीका शिक्षक दाहाल गत माघ ३ गते प्रधानाध्यापकमा नियुक्ति गरिएको हो । भीमफेदी–८, गंगटेस्थित विद्यालयमा गत माघ १७ गते प्राथमिक तह तृतीय श्रेणीका शिक्षक सोमबहादुर भुलुनलाई प्रधानाध्यापकमा नियुक्ति गरिएको छ ।
सम्बन्धित विद्यालयको व्यवस्थापन समिति र पालिकाको सिफारिस भएर आएपछि शिक्षा विकास तथा समन्वय इकाईले प्रधानाध्यापक पदमा नियुक्त दिने गरेको छ । शिक्षा ऐन, नियममा भएको प्रधानाध्यापक नियुक्तिको व्यवस्थाविपरित कतिपय विद्यालयमा प्रधानाध्यापक नियुक्ति हुने गरेको पाइएको छ । विद्यालय सञ्चालनका लागि भन्दै इकाईले समेत प्रक्रियाविपरित भइरहेको प्रधानाध्यापकको नियुक्ति सिफारिसलाई अनुमोदन गर्दै आएको छ ।
विद्यालयका सिनियर तथा जुनियर शिक्षकको आधारमा प्रधानाध्यापक पदमा नियुक्त गर्ने प्रक्रियालाई इकाईले निरन्तरता दिइरहेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका अधिकृत कृष्ण पौडेलले दावी गर्नुभयो । माध्यमिक विद्यालयको प्रधानाध्यापकका लागि स्नातक तह पूरा र आधारभूत (प्राथमिक) विद्यालयका लागि शिक्षा संकायमा कक्षा १२ उत्तीर्ण गरेका शिक्षकलाई प्रधानाध्यापकमा नियुक्ति गरिँदै आएको पौडेलले जानकारी दिनुभयो । विद्यालयमा भएका योग्य तथा सिनियर शिक्षक प्रधानाध्यापक पदमा नियुक्तिका लागि मञ्जुर नभए जुनियर शिक्षकलाई पनि विद्यालयको प्रधानाध्यापक पदमा नियुक्ति गर्ने गरिएको उहाँको भनाइ छ ।
विद्यालयको समग्र जिम्मेवारी सम्हाल्नुपर्ने प्रधानाध्यापकको नियुक्ति प्रक्रियाविपरित भइरहेको पाइएको छ । विद्यालयको समग्र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने प्रधानाध्यापक सक्षम हुनुपर्ने भन्दै केही समयअघि जिल्ला शिक्षा समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले प्रधानाध्यापक नियुक्ति प्रक्रियालाई कडाईका साथ कार्यान्वयन गर्न, गराउन ध्यान दिने बताउनुभएको थियो । बकैया गाउँपालिकाको शिक्षा शाखा प्रमुख आइतराम तामाङले अहिलेसम्म विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार नियुक्त भएका प्रधानाध्यापकलाई जिम्मेवारी दिने प्रक्रिया पूरा गर्दै आएको जानकारी दिनुभएको थियो । आगामी दिनमा विद्यालय व्यवस्थापन समितिको निर्णयलाई मात्रै नहेरी शिक्षा नियमावलीमा उल्लेख भएको विधि र प्रक्रियाअनुसार नै नियुक्तिको प्रक्रिया पूरा भए, नभएको कडाईका साथ कार्यान्वयनमा ल्याउने बताउनुभएको थियो । जिल्ला समन्वय समिति मकवानपुर प्रमुख, पालिकाका शिक्षा प्रमुखले विद्यालयमा नयाँ प्रधानाध्यापक नियुक्तिमा कडाई गरिने कुुुरा गरेपनि कार्यान्वयनमा भने लागू भएको छैन ।
शिक्षा नियमावली २०५९ को परिच्छेद १७ मा प्रधानाध्यापक र शिक्षकको नियुक्ति तथा काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था रहेको छ । नियमावलीको परिच्छेद १७ अन्तर्गत् नियम ९३ को उपनियम २ मा विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक नियुक्ति गर्न कार्यरत शिक्षकहरुबाट दरखास्त आह्वान गर्नुपर्ने व्यवस्था छ । नियम ९३ को उपनियम २ बमोजिम दरखास्त आह्वान भएपछि सम्बन्धित शिक्षकले व्यवस्थापन समितिले तोकेको म्यादभित्र विद्यालय विकास प्रस्तावसहित विद्यालय व्यवस्थापन समितिसमक्ष दरखास्त दिन सक्नेछ । विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक छनोट समिति नै गठन गरेर विद्यालय विकास प्रस्तावसहित शिक्षकहरुको योग्यता, सीप, क्षमता मूल्यांकन गरी सिफारिस गर्नुपर्ने व्यवस्था नियमावलीमा छ ।
शिक्षा नियमावलीको अनुसूची १३ अनुसार शैक्षिक योग्यता, शिक्षण अनुभव, तालिम, आवेदक शिक्षकले अध्यापन गरेको विषयको सिकाई उपलब्धी, विद्यालय विकास प्रस्ताव, प्रस्तावको प्रस्तुति, नेतृत्व क्षमतालाई कुल १०० पूर्णाङ्क मानेर आवेदक शिक्षकको मूल्यांकन गर्नुपर्नेछ । १०० पूर्णाङ्कमध्ये ६० भन्दा कम प्राप्ताङ्क आए त्यस्तो उम्मेदवार प्रधानाध्यापक नियुक्त हुन योग्य हुनेछैन । यसरी नियुक्त हुने प्रधानाध्यापकको कार्यकाल ५ वर्षको हुने नियमावलीमा उल्लेख छ । तर, कोही प्रधानाध्यापक दशौं वर्षसम्म निरन्तर कार्यरत छन् । पछिल्लो समय जिल्लाका विभिन्न विद्यालयमा विद्यालय व्यवस्थापन समितिको सोझो निर्णयमा प्रधानाध्यापक नियुक्त गर्ने गरिएको छ ।