हेटौंडाः सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग महाप्रबन्धकविहिन बनेको छ । पुस मसान्तदेखि महाप्रबन्धक प्रेमशंकर सिंहको कार्यकाल सकिएसँगै हेटौंडा सिमेन्ट उद्योग महाप्रबन्धकविहिन बनेको हो । महाप्रबन्धकको कार्यकाल सकिए पनि नयाँ महाप्रबन्धक नियुक्तिको प्रक्रिया अगाडि बढ्न नसकेको उद्योग प्रशासनले जनाएको छ ।

ढुंगाको धुलो पकाउने मेसिन (किल्न) बिग्रिएर सिमेन्टको उत्पादन ठप्प छ भने सिमेन्टको स्टक सकिएकोले विक्री पनि ठप्प छ । उद्योगको उत्पादन बन्द भएको १ महिनाभन्दा बढी समय भइसक्यो भने पुस २६ गतेदेखि विक्री नै बन्द भएको उद्योगका एक कर्मचारीको भनाइ छ । किल्न चलाउनका लागि उदयपुर सिमेन्ट उद्योगसँग इँटा सापटी लिएर मर्मतको काम भइरहेको छ । केही दिनमै उत्पादन सुरु हुने पनि ती कर्मचारीले जानकारी दिएका छन् ।

मजदुर संगठनले मन्त्रालयको सचिवलाई लेखेको ध्यानाकर्षणपत्र ।

यता मजदुर संगठनले भने उद्योगको महाप्रबन्धक छिटो नियुक्त गर्न माग गरेको छ । मंगलबार ३ वटा मजदुर संगठनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै संयुक्तरुपमा ध्यानाकर्षणपत्र जारी गरी महाप्रबन्धक नियुक्त गर्न माग गरेका छन् । महाप्रबन्धक नहुँदा उद्योगको समग्र उत्पादन, आर्थिक एवम् प्रशासनिक काम प्रभावित बनेको भन्दै मन्त्रालयका सचिवको ध्यानाकर्षण गराएको छ । नेपाल औद्योगिक मजदुर संघ, नेपाल कारखाना श्रमिक संघ र समग्र उद्योग ट्रेड युनियन नेपालले संयुक्तरुपमा प्रकाशित गरेको ध्यानाकर्षणपत्रमा महाप्रबन्धकको कार्यकाल सकिनु अघि नै महाप्रबन्धक समयमै नियुक्त गर्न आग्रह गरेको स्मरण गराएको छ ।

संघीय सरकारको मन्त्री परिषद्बाटै महाप्रबन्धक नियुक्ति गर्ने व्यवस्था छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ३ जनाको नाम सिफारिस गरेपछि मन्त्रीपरिषद्बाट एकजनालाई महाप्रबन्धक नियुक्त गर्ने व्यवस्था छ । प्रेमशंकर सिंहले २०७१ सालदेखि निरन्तर महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दै पुस मसान्तदेखि दोस्रो कार्यकाल पूरा गर्नु भएको हो ।