हेटौंडाः राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाले नेपालको जनसंख्या २ करोड ९२ लाख पुगेको देखाएको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको जनगणनाको नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको हो ।
सार्वजनिक नतिजाअनुसार मकवानपुर जिल्लाको जनसंख्या २०६८ सालको ४ लाख २० हजार ४ सय ७७ बाट शून्य दशमलव ८८ प्रतिशतले वृद्धि भई ४ लाख ६१ हजार ५३ पुगेको छ । मकवानपुर जिल्लामा ९६ हजार २ सय १४ घर संख्या र १ लाख ६ हजार ६ सय ६ परिवार संख्या रहेको जनगणनाको प्रारम्भिक नतिजामा उल्लेख छ ।
मकवानपुर जिल्लाको कुल जनसंख्यामध्ये पुरुषको संख्या २ लाख २८ हजार ४ सय ७२ र महिलाको संख्या २ लाख ३२ हजार ५ सय ८१ रहेको छ । मकवानपुर जिल्लाको लैंगिक अनुपात ९८ दशमलब २३ हुँदा परिवारको औसत आकार ४ दशमलब ३२ र जनघनत्व १९० रहेको छ । मकवानपुर जिल्लामा १४ हजार ८ सय २० जना पुरुष र ४ हजार ७ सय २६ जना महिला गरी कुल १९ हजार ५ सय ४६ जना अनुपस्थित रहेको सार्वजनिक जनगणनाको नतिजामा जनाइएको छ ।
मकवानपुर जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी जनसंख्या हेटौंडा उपमहानगरपालिकामा रहेको छ । हेटौंडाको कुल जनसंख्या १ लाख ९५ हजार ९ सय ५१ रहेको छ । जसमा ९७ हजार ३ सय २४ जना पुरुष र ९८ हजार ६ सय २७ जना महिला रहेको सार्वजनिक जनगणनाको नतिजामा उल्लेख गरिएको छ । हेटौंडा उपमहानगरपालिकामा ३९ हजार ४ सय २५ घर संख्या र ४७ हजार २७ परिवार संख्या रहेको छ ।
हेटौंडापछि सबैभन्दा बढी जनसंख्या मनहरी गाउँपालिकामा रहेको छ । मनहरी गाउँपालिकाको जनसंख्या ४७ हजार १ सय ४४ छ । जिल्लाका स्थानीय तहमध्ये तेस्रो बढी जनसंख्या बकैया गाउँपालिका र चौथोमा थाहा नगरपालिकामा रहेको छ । जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार बकैयाको जनसंख्या ४० हजार ६ सय ७१ छ भने थाहा नगरपालिकाको जनसंख्या ३९ हजार १ सय ६३ रहेको छ । जिल्लामा सबैभन्दा कम जनसंख्या ईन्द्रसरोवर गाउँपालिकामा १३ हजार ७ सय ५८ जनामात्र रहेका छन् ।
यस्तै, जिल्लाको बागमती गाउँपालिकामा ३० हजार ६ सय २५, भीमफेदी गाउँपालिकामा २१ हजार ६ सय २६, कैलाश गाउँपालिकामा २१ हजार ९ सय ९२, मकवानपुरगढी गाउँपालिकामा २४ हजार २ सय ५२ र राक्सिराङ गाउँपालिकामा २५ हजार ८ सय ७१ जनसंख्या रहेको छ ।