नेपालमा ब्रिटिस भाषा र संस्कृतिको विकासमा लामो समयदेखि काम गर्दै आएको आएको ब्रिटिस काउन्सिल नेपालले विद्यालय तहमा पनि रचनात्मक काम गर्दै आएको छ । विद्यालयका प्रधानाध्यापक, शिक्षकदेखि विद्यार्थीको क्षमता र नेतृत्व विकास गराउने उद्देश्यबाट सुरु गरेको कार्यक्रमले हेटौंडाको आधुनिक राष्ट्रिय माविलाई पनि अन्तर्राष्ट्रिय विद्यालयको उपाधि प्राप्त भएको छ । काउन्सिलले हरेक वर्ष नेपालका सरकारी तथा निजी विद्यालयको क्षमता अभिवृद्धि गर्ने गरी साझेदारी गर्दै विद्यालयलाई अन्तर्राष्ट्रिय उपाधि प्रदान गर्ने गरेको छ । सन् २०१९ देखि नै विद्यार्थी लक्षित विभिन्न परियोजना सञ्चालन गरेको आधुनिक राष्ट्रिय माविलाई अन्तर्राष्ट्रिय विद्यालयको उपाधि प्रदान गरेको हो । प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाबाट सम्मानित हुनु देशकै लागि इज्जतको विषय हो ।
ब्रिटिस काउन्सिल नेपालले निर्धारण गरेको मापदण्डमा रहेर आधुनिक माविले ४ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीलाई विभिन्न १० वटा परियोजनामा कार्य गराएको थियो । विद्यार्थीलाई परियोजना कार्यमा सहभागी गराउन शिक्षकहरुलाई नै जिम्मेवारी दिइएको थियो । विद्यार्थीहरुलाई विभिन्न १० वटा परियोजना लक्षित क्रियाकलाप गराउन काउन्सिलले सहजीकरण गर्नुका साथै केही सहयोगसमेत गरेको थियो । प्राप्त सहयोगभन्दा पनि विद्यार्थीहरुले अन्य मुलुकका विद्यार्थीसँगको प्रतिष्पर्धामा उत्कृष्ट हुन सफल भएका छन् । विद्यार्थी र शिक्षकको कला, कौशल र क्षमता प्रदर्शनकै कारण विभिन्न देशका विभिन्न विद्यालयमध्ये हेटौंडाको आधुतिक राष्ट्रिय माविले पनि अन्तर्राष्ट्रिय विद्यालयको उपाधि हासिल गरेको छ । विद्यालयका गतिविधि, नेतृत्व विकास र प्रस्तुति स्वभाविक भए पनि अन्तर्राष्ट्रिय उपाधि गौरवको विषय हो ।
ब्रिटिस काउन्सिलसँगको साझेदारीमा सञ्चालित परियोजना कार्यका क्रममा बेलायत, जापान, भारत, पाकिस्तान, बंगलादेश, इजिप्टका विद्यालय तहका विद्यार्थीसँग अनलाइन माध्यममार्फत् आधुनिक राष्ट्रिय माविका विद्यार्थीहरुले अन्तरक्रिया गरेका थिए । विद्यार्थीले नाटक मञ्चन, लागूऔषध दूव्र्यसनसम्बन्धी सचेतनाका लागि ¥याली, बसाईसराईसम्बन्धी जानकारी, अभिव्यक्ति कला, चाडपर्व, जातीय समूहका विशेषताका बारेमा खोज, अध्ययन, अन्तरक्रिया गरेका हुन् । निजी विद्यालयसँग पनि सहकार्य गर्नुपर्ने मापदण्डअनुसार हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलसँग आधुनिकले सहकार्य गरेको थियो । सहकार्य गरेका विद्यालयमध्ये ब्रिटिस काउन्सिलले निर्धारण गरेको मापदण्ड पालना गर्दै परियोजनाको उद्देश्य हासिल भएका विद्यालयलाई अन्तर्राष्ट्रिय विद्यालयको उपाधि प्रदान गरेको हो । विभिन्न मुलुकका विद्यार्थीसँगको प्रतिष्पर्धामा हेटौंडाका विद्यार्थीहरुको प्रस्तुती उत्कृष्ट सावित भएको छ ।
नेपालमा लगातार उत्कृष्ट हुँदै आएको आधुनिक राष्ट्रिय मावि मकवानपुरका लागि गौरव पनि हो । माध्यमिक तहको परीक्षामा समेत लामो समयदेखि उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ भने विभिन्न राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरिसकेको छ । यसका लागि सामान्य मेहनत र तयारीले पुग्दैन । जिल्लाका सबै विद्यालयहरु र कार्यरत शिक्षकहरुले आधुनिक माविबाट सिक्नु पर्ने धेरै कुरा छन् । कुनै पनि क्षेत्रमा उत्कृष्ट हुन व्यवस्थापकीय पक्ष महत्वपूर्ण हुन्छ । अनुशासित टिमले मात्र लक्ष्य सहजै प्राप्त गर्नसक्छ । विशेषगरी शिक्षकहरुको भूमिका महत्वपूर्ण देखिन्छ । कसरी विद्यार्थीको क्षमता प्रस्तुत गराउने भन्ने कला शिक्षकमा हुन आवश्यक छ । दक्षता र अनुभवलाई श्रृजनात्मक बनाउने कलाको विकास सबै शिक्षकहरुमा भए अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा पनि उत्कृष्टता हासिल गर्न सकिने उदाहरण आधुनिक माविले दिएको छ ।