Home मुख्य समाचार राष्ट्रिय सभा निर्वाचनः बागमती प्रदेशअन्तर्गतको मतदान हेटौंडामा हुँदै (फोटो फिचर)

राष्ट्रिय सभा निर्वाचनः बागमती प्रदेशअन्तर्गतको मतदान हेटौंडामा हुँदै (फोटो फिचर)

राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्नुहुँदै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनाल ।

हेटौंडाः राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशबाट २ सदस्य पदका लागि अहिले प्रदेश राजधानी हेटौंडामा मतदान प्रक्रिया सुरु भएको छ । देशभर १९ सदस्यका लागि भएको चुनावमा बागमती प्रदेशबाट एक अन्य र एक महिला सदस्य पदका लागि मतदान भइरहेको छ ।

बिहान ९ बजेबाट हेटौंडा औद्योगिक क्षेत्रमा सुरु भएको मतदान कार्यक्रममा बागमती प्रदेशभरमा ११९ स्थानीय तहका २३७ जना प्रमुख तथा उपप्रमुख र १०९ जना प्रदेश सभा सदस्यहरुले मतदान गर्नुहुने सहायक निर्वाचन अधिकृत लुम्बनाथ पोखरेलले जानकारी दिनुभएको छ । निर्वाचनका लागि प्रदेश सभा र स्थानीय तहका लागि छुट्टाछुट्टै मतदान केन्द्र स्थापना गरिएको छ ।

वर्षाका कारण मतदान कार्यक्रम सुरुवातमै केही प्रभावित बनेपनि अहिले नियमित मतदान कार्य भइरहेको छ । मतदान कार्यक्रममा प्रदेश सभा सदस्यतर्फ जीवन खड्का र स्थानीय तहतर्फ निलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुङ्गानाले सर्वप्रथम मतदान गर्नुभएको थियो । मतदान कार्यक्रम ३ बजेसम्म चल्ने र ४ बजेबाट मतगणना सुरु गरिने पोखरेलले बताउनुभयो । बगमती प्रदेशमा २ सदस्यका लागि ६ जनाको उम्मेदवारी रहेको छ ।

निर्वाचनमा ५ दलीय गठबन्धनका तर्फबाट महिला सदस्यमा नेकपा (एकीकृत समाजवादी) बाट गोमादेवी तिमल्सिना र अन्य सदस्यमा नेपाली कांग्रेसबाट कृष्ण प्रसाद पौडेलको उम्मेदवारी रहेको छ । यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट महिला सदस्यमा निरु कुमारी कुँवर र अन्य सदस्यमा गोपाल शाक्यको उम्मेदवारी छ भने नेपाल मजदुर किसान पार्टीबाट पनि महिला सदस्यमा गीता काफ्ले र अन्य सदस्यमा कृष्ण बहादुर तामाङको उम्मेदवारी रहेको छ ।

Exit mobile version