हेटौंडाः नेपालको राजधानी काठमाडौंमा सहयोगापेक्षी आश्रयस्थल बनाइने भएको छ । काठमाडौं महानगरको नेतृत्वमा उक्त भवन बनाइने मानवसेवा आश्रमका अभियन्ता होमनाथ पौडेलले बताउनुभयो । महानगरबाट विनियोजित ११ करोड रुपैयाँ लागतमा मानवसेवा आश्रमको भवन बनाइने पौडेलले जानकारी दिनुभयो । आश्रमको भवनका निर्माण अगाडि बढाउन डीपीआर तयार गरी हस्तान्तरण गरिएको छ ।

काठमाडौं जिल्लामा रहेका सहयोगापेक्षी सडक आश्रित मानवहरुको व्यवस्थापनका लागि शहीद धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रमको डीपीआर तयार पारिएको हो । काठमाडौं महानगरपालिकाका नगरप्रमुख एवम् शहरी योजना आयोगका अध्यक्ष विद्यासुन्दर शाक्यले नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहन बस्नेतलाई फाइल हस्तान्तरण गर्नुभएको थियो । नागार्जुन नगरपालिका–६ मा बन्ने भवनको निर्माण प्रक्रिया अगाडि बढाउन शहरी योजना आयोगले नागार्जुन नगरपालिकालाई डीपीआर डिजाइनसहितको फाइल हस्तान्तरण गरेको हो ।

निर्माण हुने भवनको सम्पूर्ण लगानी काठमाडौं महानगरपालिकाले गर्ने र त्यसको व्यवस्थापन नागार्जुन नगरपालिकाले गर्नेछ । भवन निर्माणपश्चात् सडकमानवको व्यवस्थापनका लागि भवन मानवसेवा आश्रमले सदुपयोग गर्नेछ । १८० जना सहयोगापेक्षी व्यक्तिहरु उद्धार गरी व्यवस्थापन गर्नका लागि र २५ जना सेवामा रहने टिमको आवासीय सुविधा भवनमा रहनेछ । कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी, नागार्जुन नगरपालिकाका योजना शाखा प्रमुख नारायण तिमिल्सिना, मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी लगायतको उपस्थिति रहेको थियो । हाल मानवसेवा आश्रमले काठमाडौं महानगरपालिका– २६, सामाखुसी र नागार्जुन नगरपालिका–१, रानीबनबाट २०५ जनालाई आश्रय दिइरहेको छ । यस्तै देशका सातै प्रदेशको १७ जिल्लाका २४ स्थानहरुबाट एक हजार ६ सय बढीको संरक्षण गरी मानवसेवा आश्रमले सेवा प्रदान गरिरहेको छ ।