नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ पदाधिकारीहरुलाई सपथ गराउनुहुँदै ।

हेटौंंडाः ११ औँ जिल्ला अधिवेशनबाट निर्वाचित नेकपा एमाले मकवानपुरका पदाधिकारीले मंगलबार सपथ ग्रहण गरेका छन् । सर्वसम्मत निर्वाचित भएको घोषणा गर्ने क्रममा विवाद भएपछि सपथग्रहणको कार्य हुन सकेको थिएन । पुस २३ गते जिल्ला अधिवेशनको उद्घाटन तथा पुस २४ गते निर्वाचनको प्रक्रिया सुरु भएर पुस २५ गते बिहान सर्वसम्मत निर्वाचित भएको घोषणा गरिएको थियो । मंगलबार अध्यक्ष र उपाध्यक्ष, सचिव र उपसचिवमा निर्वाचितहरुले सपथ ग्रहण गरेका हुन् ।

नेकपा एमाले मकवानपुरको कार्यालयमा अध्यक्ष श्रेष्ठलाई निर्वाचन मण्डलका अधिकृत अर्जुन अर्यालले सपथ ग्रहण गराउनुभएको हो । यस्तै अध्यक्ष श्रेष्ठले उपाध्यक्षमा निवार्चित हुनुभएका लालबहादुर थापा, सचिव नविन सिग्देल, उपसचिव हिदम लामा, र सीता विष्टलाई सपथ ग्रहण गराउनुभएको छ । यस्तै सदस्यहरु जुना दाहाल, सुनिल मोक्तान, मदन दाहाल, रमिला सापकोटा, फुर्वा दोर्जे लामा, सुमित्रा काफ्लेलाई सपथग्रहण गराउनुुभएको छ ।

एमाले मकवानपुरका निवर्तमान अध्यक्ष एवम् ११ औँ जिल्ला अधिवेशनमा अध्यक्ष पदका आकांक्षी बद्रीप्रसाद लम्सालको अध्यक्षता भएको कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, निर्वाचन मण्डलका अध्यक्ष रामेश्वर रानाको आतिथ्य रहेको थियो । कार्यक्रममा अध्यक्षका प्रत्यासी लम्सालले नेतृत्वले पर्याप्त समन्वय नगर्दा किस्ताबन्दीमा सपथ ग्रहण गर्नुपर्ने अवस्था आएकोे बताउनुभयो ।

अधिवेशन सकिएकै बेला बधाई दिन पाउने अवस्था हुन नसकेकोप्रति लम्सालले दुखेसो गर्नुभयो । उहाँले अहिलेको जिल्ला कमिटीका सदस्यहरुको नाम थाहा नभएको बताउनुभयोे । आफु सहमतिको वाधक कहिलेपनि नभएको र एमालेको नयाँ कमिटिले एमाले मकवानपुरलाई थप उचाई प्रदान गर्नेमा आफु विश्वस्त रहेको लम्सालले बताउनुभयो ।