Home मुख्य समाचार मकवानपुरमा मतदाता नामावली संकलन कार्य जारी, पछिल्लो एक वर्षमा २१ हजारको नाम...

मकवानपुरमा मतदाता नामावली संकलन कार्य जारी, पछिल्लो एक वर्षमा २१ हजारको नाम दर्ता

मकवानपुरको जिल्ला प्रशासन कार्यालय भवन ।

हेटौंडाः मकवानपुरमा पछिल्लो एक वर्षमा २१ हजार जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । तीनै तहको चुनावमा मतदान गर्नका लागि मकवानपुर जिल्लाका स्थायी बासिन्दासहित हाल मकवानपुरमा बसोबास गरिरहेका बाहिरी जिल्लाका मतदाताहरुले पनि मकवानपुरबाट मतदाता नामावलीमा फोटोसहित नाम दर्ता गराएका छन् ।

गतवर्ष २०७७ को पुस ५ गतेपछि २०७८ पुस मसान्तसम्ममा कुल २१ हजार ३ सय ४८ जनाले हेटौंडा–५ स्थित प्रदेश निर्वाचन कार्यालयबाट नाम दर्ता गराएका कार्यालयले जनाएको छ । जसमा कार्यालयले यही मंसिर १७ गतेदेखि पुस १९ गतेसम्म जिल्लाका ९ पालिकामा आयोजना गरेको मतदाता नामावली संकलन अभियानमा मात्र ४ हजार १ सय ८१ जना महिला र ४ हजार २ सय ६३ जना पुरुष गरी कुल ८ हजार ४ सय ४४ जनाले नाम दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रदेश निर्वाचन अधिकारी लुम्बनाथ पोखरेलले जानकारी दिनुभयो । मंसिर १७ देखि पुस २ गतेसम्म पहिलो चरणमा ५ पालिका र पुस ५ गतेदेखि १९ गतेसम्म दोस्रो चरणमा ४ पालिकामा अभियान सञ्चालन भएको थियो ।

उक्त अवधिमा सबैभन्दा धेरै बागमती गाउँपालिकामा नाम दर्ता भएका छन् । बागमतीका ७ सय ४२ जना महिला र ६ सय ६८ जना पुरुष गरी १ हजार ४ सय १० जनाले नाम दर्ता गराएका छन् । अभियानअन्तर्गत् नै बकैयाका ६ सय ६६ जना महिला र ६ सय ५५ जना पुरुष गरी १ हजार ३ सय २१ जना, मनहरीका ६ सय १४ जना महिला र ६ सय ३० जना पुरुष गरी १ हजार २ सय ४४ जना, मकवानपुरगढीका ५ सय ६५ जना महिला र ५ सय ३४ जना पुरुष गरी १ हजार ९९ जना, राक्सिराङका ४ सय ९३ जना महिला र ५ सय ३० जना पुरुष गरी १ हजार २३ जनाले नाम दर्ता गराएका छन् ।

यसैगरी थाहा नगरपालिकाका ४ सय ४२ जना महिला र ५ सय ३२ जना पुरुष गरी ९ सय ७४ जना, ईन्द्रसरोबरमा ३ सय ६ जना महिला र ३ सय ३२ जना पुरुष गरी ६ सय ३८ जना, भीमफेदीमा १ सय ९५ जना महिला र २ सय १० जना पुरुष गरी ४ सय ५ जना तथा कैलाश गाउँपालिकामा १ सय ५८ जना महिला र १ सय ७२ जना पुरुष गरी ३ सय ३० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएकोे प्रदेश निर्वाचन अधिकारी पोखरेलले जानकारी दिनुभयो ।

२०७७ पुष ५ गते निर्वाचन आयोगले मतदाता नामावली जारी गरेपश्चात् गएको पुस मसान्तसम्ममा प्रदेश निर्वाचन कार्यालय हेटौंडामा मात्र अभियानबाहेकको समयमा मकवानपुर जिल्लाका ५ हजार ४ सय १७ जना महिला र ६ हजार ६ सय ७७ जना पुरुष गरी १२ हजार ९४ जनाले कार्यालयमै आएर मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । नाम दर्ता गराएकामध्ये हालसम्म २२ जनाको नाम रुजु गर्ने क्रममा दोहारो देखिएको कार्यालयले जनाएको छ । प्रदेश निर्वाचन अधिकारी पोखरेलका अनुसार उक्त २२ जनाको नाम एकै स्थानीय तहको एकै मतदान केन्द्रमा दोहारिन पुगेको हो । उक्त व्यक्तिहरुले पहिले पनि मतदाता नामावलीमा नाम दर्ता गराइसकेको अवस्थामा पुनः दर्ता गराएकाले यस्तो देखिन पुगेको उहाँले बताउनुभयो ।

यस्तै नाम दर्ता गराएकामध्ये १ हजार १ सय जनाको नाम भने डुब्लिकेशनमा परेको पनि उहाँले बताउनुभएको छ । उक्त व्यक्तिहरुको भने अन्य जिल्लामा अथवा जिल्लाकै अन्य स्थानीय तहमा अथवा अन्य मतदान केन्द्रमा तथा आमाबुवाको नाम फरक पर्न गएको अवस्थामा डुब्लिकेशन देखिएको जनाइएको छ । यसैगरी नामदर्ताकै क्रममा देशका ४१ जिल्लाका ४ सय ७६ जनाले मकवानपुरबाट मतदान गर्नका लागि नामसारी गरेका छन् । जसमा बारा जिल्लाका सबैभन्दा बढी १ सय ६ जनाले बारा जिल्लाबाट मकवानपुरमा आफ्नो नाम सारेका हुन् । उक्त जिल्लाहरुबाट बिहेगरी आएका अथवा बसाइँ सरी आएकाहरुले नाम सार्न निवेदन दिएको पनि प्रदेश निर्वाचन अधिकारी पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार नामसारी गर्न दिएकाहरुका नाम सम्बन्धित जिल्लामा कट्टा गर्न पठाइनेछ भने उक्त जिल्लाहरुले नाम कट्टा गरेको जानकारी दिएपछि मकवानपुरबाट मतदान गर्न पाउनेछन् ।

मकवानपुर जिल्लाका मात्र नभएर अन्य जिल्लाका स्थायी बासिन्दा भएर हाल मकवानपुरमा बसोबास गरिरहेका नागरिकहरुले पनि आफ्नै जिल्लालाई मतदान केन्द्र बनाएर मकवानपुरबाट नाम दर्ता गराएका छन् । यसरी नाम दर्ता गराउने अन्य जिल्लाका ३ सय ३४ जना रहेका छन् । निर्वाचन आयोगले मतदाता नामावली दर्ता गराउन आफ्नो जिल्ला पुग्न नसक्नेहरुका लागि जहाँ छ त्यहीँबाट नाम दर्ता गराउन सकिने व्यवस्था गरेकाले पनि अन्य जिल्लामा अस्थायीरुपमा बसोबास गर्नेहरुलाई सहजता प्रदान भएको प्रदेश निर्वाचन अधिकारी लुम्बनाथ पोखरेलले बताउनुभयो ।

निर्वाचन आयोगले गत वर्षको पुसमा जारी गरेको मतदाता नामावलीमा मकवानपुर जिल्लामा २०७४ सालमा भएको संघीय र प्रदेशसभाको चुनावमा भन्दा १६ हजार ८ सय ३२ जना मतदाता वृद्धि भएका छन् । उक्त तथ्याङ्कका आधारमा मकवानपुरमा १ लाख ३७ हजार ९ सय ८ जना महिला, १ लाख ३४ हजार ५ सय ५९ जना पुरुष र ६ जना तेस्रो लिङ्गीसहित कुल २ लाख ७२ हजार ४ सय ७३ जना मतदाता रहेका छन् । २०७४ सालमा १ लाख २९ हजार ६ सय २८ जना महिला, १ लाख २५ हजार ९ सय ७० जना पुरुष र ६ जना तेस्रो लिङ्गीसहित कुल २ लाख ५५ हजार ६ सय ४१ जना मतदाता रहेका थिए ।

यद्यपि पछिल्लो एक वर्षमा थप दर्ता भएका तथा हाल भइरहेकाहरुको नामावली निर्वाचन आयोगबाट प्रमाणीकरण भएर आउन बाँकी रहेको छ । सरकारले आगामी चुनावको मिति घोषणा गरेपछि मतदाता नामावली संकलन रोकिने र त्यस अवधिमा नाम दर्ता गराएकामध्ये १८ वर्ष पूरा भएकाहरुको तथा अन्य पक्रिया पुगेकाहरुको प्रमाणीकरण भएर आएपछि मात्र आगामी चुनावमा कुल मतदाता संख्या यकिन हुने जनाइएको छ । सरकारले चुनावको मिति घोषणा नगरेसम्म मतदाता नामावली दर्ता कार्य जारी रहने पनि प्रदेश निर्वाचन अधिकारी पोखरेलले जानकारी दिनुभएको छ ।

मतदाता नामावली दर्ता गराउन पछिल्लो समय कार्यालयमै नागरिकहरुको उत्साहजनकरुपमा सहभागिता रहेको उहाँले बताउनुभएको छ । नाम दर्ता गराउन आएकाहरुको कार्यालय समय सकिएपनि अबेरसम्म बसेर कार्यालयमा आएका सबैको नाम दर्ता गर्ने गरेको उहाँको भनाई छ । तर पालिका तहमा आयोजना गरिएको अभियानमा भने सोचेअनुरुप उपस्थिति नरहेको पनि पोखरेलले बताउनुभयो । छोटो समयका लागि मात्र अभियान सञ्चालन भएकाले पनि सबैले नाम दर्ता गराउन नसकेको हुनसक्ने पनि उहाँले आँकलन गर्नुभएको छ । पालिकागत अभियान सकिएपनि विभिन्न पालिकाहरुबाट गाडी रिजर्भ नै गरेर मतदाता नामावली संकलन गराउन कार्यालयमै जिल्लाबासी नागरिकहरु आउँदा सम्बन्धित पालिकाका जनप्रतिनिधिहरुले पनि आवश्यक समन्वय गरेको उहाँले बताउनुभएको छ ।

Exit mobile version