हेटौंडाः प्याक्ट नेपालले स्वास्थ्य क्षेत्रमा सामाजिक जवाफदेहितासम्बन्धी अध्ययन प्रतिवेदनमाथि शुक्रबार हेटौंडामा छलफल भएको छ । हेटौंडा उपमहानगरपालिकासहित सात प्रदेशका १३ जिल्लाका २१ वटा स्थानीय सरकारले स्वास्थ्य सेवाको क्षेत्रमा निर्वाह गरेको सामाजिक जवाफदेहितासम्बन्धी अनुसन्धान प्रतिवेदन प्रस्तुत गरिएको हो ।
सन् २०२१ को अगस्टदेखि नोभेम्बरसम्म गरिएको अध्ययन प्रतिवेदनमाथि शुक्रबार छलफल गरिएको हो । प्याक्ट नेपालका दुर्लभ बोगटीले अध्ययन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्ययन प्रतिवेदन प्रस्तुत गर्नुहुँदै बोगटीले स्थानीय सरकारहरुले नागरिक समाज, सामाजिक व्यक्तित्व र सम्बन्धित क्षेत्रका विज्ञहरुसँग सल्लाह, सुझाव लिनुका साथै आवश्यक समन्वय समेत नगरेको उल्लेख गर्नुभयो ।
जनप्रतिनिधिहरुले सर्वेसर्वा आफैंलाई ठान्ने प्रवृत्तिले जनताको आवश्यकता र अपेक्षाअनुसार स्वास्थ्य सेवाका कार्यहरु हुन नसकेको बोगटीले दावी गर्नुभयो । छलफलमा हेटौंडा उपमहानगरपालिकाका वडा अध्यक्ष, वडा सदस्य, सामाजिक विकास महाशाखाका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्य शाखाका प्रमुखको सहभागिता रहेको थियो ।











