फाइल तस्वीर ।

हेटौंडाः कक्षा १२ को गे्रडवृद्धि मौका परीक्षा आइतबार र सोमबार दुईदिन सञ्चालन भएको थियो । दुईदिन सञ्चालित ग्रेड वृद्धि मौका परीक्षामा ७९ जना विद्यार्थी अनुपस्थित भएका छन् ।

परीक्षा फारम भरेका मध्ये १ हजार ५ सय २३ जना विद्यार्थीले परीक्षा दिएका छन् । मौका परीक्षाका लागि हेटौंडाका ४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको थियो । परीक्षाको पहिलो दिन आइतबार हेटौंडा क्याम्पसमा ४ सय ९४ जनाले परीक्षा दिएका थिए भने सिद्धार्थ माविमा १ सय ८१ जना, मकवानपुर बहुमुखी क्याम्पसमा २ सय ४८ जना र आधुनिक राष्ट्रिय माविमा २ सय ८३ जना विद्यार्थीले परीक्षा दिएका थिए । यस्तै दोस्रो दिन सोमबार हेटौंडा क्याम्पसमा १ सय ५० जना, सिद्धार्थ माविमा ६३ जना, मकवापुर बहुमुखी क्याम्पसमा ५८ जना र आधुनिक राष्ट्रिय माविमा ४६ जनाले परीक्षा दिएका थिए ।

ग्रेड वृद्धि मौका परीक्षा दिन ३ हजार १ सय ६२ जना विद्यार्थी योग्य भए पनि करिब आधा विद्यार्थीले मात्रै मौका परीक्षाको फारम भरेको राष्ट्रिय परीक्षा बोर्डको कार्यालय हेटौंडाले जानकारी दिएको छ । वार्षिक परीक्षामा ग्रेड ‘डी’ र ग्रेड ‘ई’ आउने विद्यार्थीलाई ग्रेडवृद्धिको मौका परीक्षामा सहभागी हुन नपाइने भएकोले पनि परीक्षार्थीको सहभागिता कम रहेको हुन सक्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।