हेटौंडाः मौसमी तरकारीको पर्याप्त उत्पादन भएसँगै अहिले तरकारीको मूल्य घटेको छ । मूल्य घटेपनि सिजनको तरकारी पर्याप्त मात्रामा उपलब्ध भएका कारण तरकारीको बिक्री भने कम हुने गरेको पारिजात तरकारी तथा फलफूल सप्लायर्सका विवेक अर्यालले बताउनुभयो ।

हेटौंडा—१० बासपार्कस्थित थोक तरकारी बजारमा मौसमअनुसारको तरकारीहरु पर्याप्त उपलब्ध रहेको छ । सिजनकै मुख्य तरकारी काउली होलसेलमा प्रतिकेजी १० रुपैयाँमा पाइन्छ भने खुद्रा बिक्री प्रतिकेजी २५ रुपैयाँमा भइरहेको छ । यस्तै, बन्दाको होलसेल मूल्य १५ रुपैयाँ तथा खुद्रा मूल्य ३० रुपैयाँ रहेको छ ।

हरेक दिनजस्तो मूल्य घटबढ भइरहेन गोलभेँडाको पनि होलसेल मूल्य प्रतिकेजी २५ रुपैयाँ र खुद्रा बजारमा ३५ रुपैयाँमा पाइन्छ । बरेला होलसेलमा ३० रुपैयाँ र खुद्रामा ४५ रुपैयाँ, फर्सीको होलसेलमा १५ रुपैयाँ र खुद्रामा २५ रुपैयाँमा बिक्री भइरहेको छ । यसैगरी तरुल होलसेलमा ४० रुपैयाँ र खुद्रामा ६० रुपैयाँ, सख्खरखण्ड होलसेलमा ३५ रुपैयाँ तथा खुद्रामा ४५ रुपैयाँमा पाइन्छ । पिँडालु होलसेलमा ४० रुपैयाँ र खुद्रामा ६० रुपैयाँमा बिक्री भइरहेको अर्यालले बताउनुभयो । अहिले मुख्य सिजनका तरकारी काउली सबैभन्दा कम मूल्यमा पाइन्छ भने तरुल सबैभन्दा महंगो मूल्य पर्दछ । बन्दा, गोलभेँडा, बरेला, फर्सी, तरुल, सख्खरखण्ड र पिँडालु पनि सिजनका तरकारी हुन् ।

यसैगरी बेमौसमी तरकारी हरियो प्याजको होलसेल बिक्री मूल्य प्रतिकेजी ४० रुपैयाँ, हरियो लसुनको होलसेल बिक्री मूल्य प्रतिकेजी ७० रुपैयाँ, हरियो धनियाँको होलसेल बिक्री मूल्य प्रतिकेजी ५० रुपैयाँ रहेको बताइएको छ । अदुवाको होलसेल मूल्य प्रतिकेजी ३० रुपैयाँ, रायोको सागको होलसेल मूल्य प्रतिमुठा १० रुपैयाँ तथा भण्टा होलसेलमा प्रतिकेजी १५ रुपैयाँमा पाइन्छ । यसैगरी होलसेल बजारमा नयाँ आलु प्रतिकेजी ३५ रुपैयाँ, स्कुस प्रतिकेजी १० रुपैयाँमा पाइने अर्यालले बताउनुभयो । मौसमी तथा बेमौसमी तरकारी जिल्लाभित्रका हाँडीखोला, पालुङ, नामटारलगायतका किसानहरुले उत्पादन गर्ने गरेका छन् । मकवानपुरमा उत्पादन भएका तरकारी अन्यत्र जिल्लामा पनि बिक्री गरिने गरेको उहाँले जानकारी दिनुभयो ।