जिल्ला युवा समिति मकवानपुरको अध्यक्षमा पदस्थापित हुनुहुँदै शिवहरी दाहाल ।

हेटौंडाः जिल्ला युवा समिति मकवानपुरको अध्यक्षमा शिवहरी दाहाललाई पदस्थापन गरिएको छ । आइतबार जिल्ला समन्वय समिति मकवानपुरको भवनमा स्थापना गरिएको कार्यालयमा दाहाल पदस्थापित हुनुभएको हो ।

गत फागुन ४ गते नै अध्यक्षमा नियुक्त हुनु भएका दाहालले १० महिनापछि आइतबार मात्र पदस्थापन गर्नुहुँदै कार्यालयको जिम्मेवारी सम्हाल्नुभएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले अध्यक्ष दाहाललाई पदस्थापन गराउनुहुँदै शुभकामना दिनुभएको छ ।

राज्यले युवाको क्षेत्रमा काम गर्नका लागि जिल्लास्तरमा कार्यालय प्रमुखको रुपमा आफुलाई जिम्मेवारी दिएर पठाइसकेपछि धेरै बाधाहरु सिर्जना भएको अध्यक्ष दाहालले बताउनुभयो । उत्पन्न भएका बाधाहरुलाई जिल्ला तहबाट कसरी समधान, व्यवस्थापन गर्न सकिन्छ र युवाको विकास र अधिकारका लागि के गर्न सकिन्छ भन्ने खाका तयार पारेको पनि उहाँले जानकारी दिनुभयो । राष्ट्रिय युवा परिषद् ऐन २०७२ र नियमावली २०७३ को युथ भिजनका विभिन्न कार्यहरुलाई अगाडि बढाउने उहाँले बताउनुभयो ।