हेटौंडाः सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट गर्न अनेरास्ववियु मकवानपुरले माग गरेको छ । बुधबार हेटौंडास्थित न्युज क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुरले भाडा छुट गर्न माग गरेको हो ।
पत्रकार सम्मेलनमा अनेरास्ववियुले प्रेस विज्ञप्ति जारी गर्दै मकवानपुर जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा विद्यार्थीलाई भाडा छुट गर्न माग गरेका हो । जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातको सन्दर्भमा विद्यार्थीलाई भाडामा छुट गर्न संस्थागत ध्यानाकर्षण गराउँदा लागू नभएको अनेरास्ववियुले विज्ञप्तिमा जनाएको छ ।
विद्यार्थीलाई सार्वजनिक यातायात साधनको भाडामा छुट दिन ध्यानाकर्षण गराउँदा पनि केहि सार्वजनिक यातायातहरुले अटेर गर्ने, अवहेलना गर्ने र उल्टै विद्यार्थीहरुलाई गलत व्यवहार गर्नेसम्म हर्कत भइरहेको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा राज्यद्वारा तोकिएको भाडादर विद्यार्थीलाई छुट गर्न आनाकानी गरेको खण्डमा आन्दोलनमा समेत उत्रने जानकारी गराइएको छ ।
कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य किशन घिसिङ, मकवानपुरका अध्यक्ष विशाल पौडेललगायतको उपस्थिति रहेको थियो ।