हेटौंडाः पश्चिम मकवानपुरको मनहरीका पदमबहादुर तितुङले नेपाली कांग्रेस त्याग गरेको घोषणा गर्नुभएको छ । विभिन्न सामाजिक र राजनीतिक अभियानमा सक्रिय तितुङले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेस परित्याग गरेको घोषणा गर्नुभएको हो ।

कांग्रेसभित्र हुर्किरहेको अराजकता र घृणित व्यवहारका कारण आफूले लामो समय बिताएको पार्टी त्याग्नुपरेको तितुङले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । उहाँले नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरे पनि अर्को दल रोजेको बताउनुभएको छैन । ‘आजैका मितिबाट मैले नेपाली कांग्रेसको क्रियाशील सदस्यता र सबै जिम्मेवारी परित्याग गरी स्वतन्त्र रहेको घोषणा गर्दछु’, तितुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

तितुङ पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति (काउन्सिल) का अध्यक्ष एवम् मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका महासचिव हुनुहुन्छ । केही दिनअघि मनहरी मध्यवर्ती उपभोक्ता समितिको नेतृत्व चयनका क्रममा अध्यक्षका प्रत्यासी बन्नुभएका तितुङ सोही पार्टी समर्थित अर्का उम्मेदवार सीताराम अर्यालसँग पराजित हुनुभएको थियो । आफूलाई पराजित गर्न नेपाली कांग्रेसका प्रदेशदेखि क्षेत्रीय र गाउँ कमिटीका नेतृत्व नै लागिपरेको आरोप लगाउँदै तितुङले कांग्रेस पार्टी त्यागेको घोषणा गर्नुभएको हो ।

आफू २०३८ सालदेखि नेपाल विद्यार्थी संघमा आबद्ध रही लोकतन्त्र र बहुदलीय व्यवस्थाको पक्षमा सदैव लागिपरेको स्मरण गराउँदै तितुङले विज्ञप्तीमा भन्नुभएको छ– ‘परिवारका सदस्यहरु यो अबधिमा तत्कालीन पञ्चायतकालीन जनपक्षीय जनप्रतिनिधि, बहुदलकालमा जिल्ला विकास समितिका क्षेत्रीय सदस्य तथा गणतन्त्र प्राप्तिपछि पनि यो क्रमले निरन्तरता पाइरहेको दृष्टान्त छ ।’ उहाँले अस्वस्थ ढंगले गरिने हर्कतहरुले पार्टी कार्यकर्ताहरुको संरक्षण गर्ने, हौसला थप्ने र अघि बढाउने काममा नेताहरु लाग्नुपर्ने भन्दै पार्टीले त्यसो नगरी निश्चित स्वार्थपूर्तिका लागि सर्वाेच्च अभिभावक ठानिएका नेताहरुबाटै घृणित व्यवहार सहनु परेको उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।