राष्ट्रिय सभा सदस्य पदका लागि बागमती प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउन आएको नेकपा एमालेको समूह ।

हेटौंडाः राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशबाट तीन दलका ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनबाट महिलातर्फ गोमा तिमल्सिना र अन्यतर्फ कृष्णप्रसाद पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ । गोमा तिमल्सिना नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बन्नुभएको हो भने कृष्णप्रसाद पौडेल नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएको हो । नेकपा एमालेबाट ललितपुरका गोपाल शाक्य र महिलातर्फ दोलखाकी नीरकुमारी कुँवर (दर्लामी) ले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै भक्तपुरकी गीता काफ्ले र काभ्रेका कृष्णबहादुर तामाङलले नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

तिमल्सिनाको प्रस्तावकमा मुनु सिग्देल रहनुभएको छ भने समर्थकमा सीता अधिकारी हुनुहुन्छ । पौडेलको प्रस्तावक इन्द्रबहादुर बनियाँ हुनुहुन्छ भने समर्थकमा राजन प्रसाद ढकाल हुनुहुन्छ । यसैगरी शाक्यको प्रस्तावकमा जुनेली श्रेष्ठ र समर्थकमा विजय सुवेदी हुनुहुन्छ । नीरकुमारीको प्रस्तावकमा डोरमणि पौडेल र समर्थकमा सरला बोलाखे हुनुहुन्छ । नेमकिपाबाट काफ्लेको प्रस्तावकमा सुनिल प्रजापति र समर्थकमा राजनी जोशी हुनुहुन्छ । यस्तै तामाङका प्रस्तावकमा सूर्यराज गोसाईँ हुनुहुन्छ भने समर्थकमा सृजना सायजु हुनुहुन्छ ।