फाइल तस्वीर ।

हेटौंडाः आमभञ्ज्याङ युवा क्लबको आयोजनामा हुन लागेको जिल्लास्तरीय रनिङशिल्ड पुरुष भलिबल प्रतियोगितामा १२ टिम खेल्ने भएका छन् । मकवानपुरगढी गाउँपालिकाको आमभञ्ज्याङमा आयोजना हुने प्रतियोगितामा आयोजकसहित मकवानपुर जिल्ला भित्रका १२ टिमले सहभागिता जनाउने छन् ।

आयोजकले मंगलबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । खेल तालिकाअनुसार प्रतियोगितामा सहभागी १२ टिमलाई ४ समुहमा विभाजन गरिएको छ । जसअनुसार प्रत्येक समुहमा ३ टिम रहेका छन् । लिगकम नकआउट चरणमा हुने प्रतियोगितामा समुह चरणका खेलपछि हरेक समुहबाट समुह विजेता र उपविजेता क्वार्टरफाइनल प्रवेश गर्दै नकआउट चरणमा खेल्नेछन् ।

प्रतियोगितामा आमभञ्ज्याङ युवा क्लब ए र बी, कैलाश गाउँपालिका, नागरिक सचेत समुह, बज्रबाराही युवा क्लब, मेतोक युवा क्लब, बकैया गाउँपालिका, हटिया स्पोर्टस् एकेडेमी, भानु मावि, कोर्टडाँडा युवा क्लब, आग्रा खेलकुद विकास समिति थाहा नगरपालिका र छहारी युवा क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेताले ६६ हजार ६ सय ६६ रुपैयाँ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो हुने टिमले पनि १५ हजार रुपैयाँ पाउने आमभञ्ज्याङ युवा क्लबका अध्यक्ष राजेश अधिकारीले बताउनुभएको छ । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कार प्रदान गरिने जनाइएको छ ।

खेल तालिका अनुसार पुस १४ गते बुधबारबाट प्रतियोगिता आयोजना हुने भनिए तापनि प्रतियोगिता १ दिन पछाडी धकेलिएको छ । मंगलबार रातीदेखि लगातार पानी परेका कारण खेल पुस १५ गतेदेखि सुरु हुनेगरी एक दिनलाई सारिएको कार्यक्रम संयोजक इन्द्रप्रसाद सञ्जेलले जानकारी दिनुभयो । बिहिबार पनि पानी नरोकिए खेल अझै सर्न सक्ने उहाँले बताउनुभयो ।