हेटौंडाः मकवानपुरगढी गाउँपालिका–८, बुढीचौरस्थित रुपनारायण माविको ४० औं अभिभावक भेला सम्पन्न भएको छ । बिहीबार भएको अभिभावक भेलामा विद्यालयका प्रधानाध्यापक राजकुमार श्रेष्ठले १ करोड ४९ लाख ९८ हजार रुपैयाँ आम्दानी र १ करोड ४६ लाख ७० हजार रुपैयाँ खर्च भएको प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
भेलामा अभिभावकहरुले गुणस्तरीय शिक्षालाई जोड दिन विद्यालयका शिक्षकलाई आग्रह गरेका छन् । अभिभावकले विद्यार्थीका लागि कोचिङ कक्षा सन्चालन गर्नुपर्ने माग राखेका अभिभावकले टिफिन टाइममा विद्यार्थी घर गएर नफर्कने हुँदा शैक्षिक गुणस्तर खस्किएको भन्दै गुनासो गरेका छन् । अभिभावक भेलामा विद्यालयको भौतिक, आर्थिक र शैक्षिक विकासबारे छलफल भएको विद्यालयका प्रधानाध्यापक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकुलप्रसाद देवकोटाको सभाध्यक्षता तथा मकवानपुगढी—८ का वडाध्यक्ष कुमार सिंह घिसिङको प्रमुख आतिथ्यमा अभिभावक भेला भएको हो । कार्यक्रममा वडा अध्यक्ष घिसिङले विद्यालयको शैक्षिक गुणस्तरका लागि वडाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यस्तै कक्षा १० सम्म पढाइ भइरहेकोले ११ र १२ कक्षा सञ्चालन गर्न थप पहाल गरिने बताउनुभयो । बाल समूहका विद्यार्थी कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रम मार्फत भेलामा स्वागत गरिएको थियो । रुपनारायण माविमा १४० छात्र र १९५ छात्रा गरी ३ जना ३५ विद्यार्थी अध्ययनरत छन् ।