क्याम्पा रंगशाला निर्माणका लागि पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेलाई सहयोग हस्तान्तरण गर्दै भेट्रान्स टिमका खेलाडी ।

हेटौंडाः शनिबार सम्पन्न सातौं हेटौंडा भट्रान्सकप फुटबल खेल्न आएका फुटबल टिमहरुले क्याम्पा रंगशालामा प्याराफिट निर्माण गर्नका लागि सहयोग प्रदान गरेका छन् । पिप्ले युवा क्लबद्वारा निर्माण भइरहेको क्याम्पा रंगशालामा प्याराफिट निर्माण गर्न पोखरा र काठमाडौंबाट आएका भेट्रान्स फुटबल टिमले आर्थिक सहयोग गरेका हुन् ।

प्रतियोगिता हुँदा हेटौंडा आएका पोखराका बगर भाइ खलक भेट्रान्स र एबीसी भेट्रान्सले आर्थिक सहयोग प्रदान गरेको पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिनुभयो । स्थानीय क्लबस्तरमा नै प्याराफिटसहितको रंगशाला निर्माण भइरहँदा खुसी व्यक्त गर्दै बगर भाइ खलक पोखराले २० हजार रुपैयाँ र एबीसी भेट्रान्सले १० हजार रुपैयाँ सहयोग प्रदान गरेको उहाँले बताउनुभयो । यसैगरी रंगशाला निर्माणकै लागि काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष बिराटजंग शाहीले पनि १५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

यस्तै प्रतियोगिताको आयोजक टिमले पनि ५० बोरा सिमेन्ट र ३ हजार रुपैयाँ प्रदान गर्नुका साथै फुटबल मैदान सम्याउन १ सय ३० मिनेटका लागि रोलर सहयोग गरेको अध्यक्ष घिमिरेले बताउनुभएको छ । मैदान सम्याउनकै लागि शान्तिनगर स्ल्याब ढलान उपभोक्ता समूहबाट पनि १ सय ६० मिनेटको लागि रोलर सहयोग गरिएको छ । पछिल्लो समयमा विभिन्न व्यक्तिहरुले प्याराफिट निर्माणका लागि आर्थिक तथा जिन्सी सहयोग प्रदान गरिरहेको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । राजेश अधिकारी र श्रीमती शितल अधिकारीले आफ्नी छोरी रसिका अधिकारीको जन्मदिनको अवसर पारेर ५ हजार ५ सय ५५ रुपैयाँ तथा वीरेन्द्र ढुङ्गेलले पनि ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको उहाँले बताउनुभयो ।

जिन्सी सहयोगमा अधिकांशले गिटी, बालुवा, ढुङ्गा तथा सिमेन्ट सहयोग प्रदान गरेका छन् । प्याराफिट निर्माणका लागि बकैया गाउँपालिका घर भई हाल हेटौंडा–८ निवासी व्यवसायी रामप्रसाद देवकोटाले ३० हजार रुपैयाँ मूल्य बराबरको १/१ ट्रिपर गिटी र बालुवा तथा जनप्रवाह क्लबका सहसचिव गोपाल पाठकले १ ट्रिपर ढुङ्गा सहयोग गर्नुभएको छ । यस्तै रिगल हेटौंडा रिसोर्टका सञ्चालक तथा पूर्वबक्सिङ खेलाडी बिनोद बोम्जनले १ सय बोरा सिमेन्ट, व्यवसायी अनल श्रेष्ठले ५० बोरा सिमेन्ट, विष्णु सेढाई तथा व्यवसायी उद्धव खड्काले २०/२० बोरा सिमेन्ट र हरि कुँवरले १० बोरा सिमेन्ट सहयोग प्रदान गर्नुभएको क्लबले जनाएको छ ।

प्याराफिट निमाणकै लागि हेटौंडाका व्यवसायी धन थापाले १/१ ट्रयाक्टर गिटी र बालुबा, कमल गौतमले १ ट्रयाक्टर बालुवा, घोथाने सप्लायर्स एण्ड कोल्ड स्टोर्सका सञ्चालक प्रेम गुरुङले २ ट्रयाक्टर बालुवा, हेटौंडा–७ न्यूरेनीका दीपक तिवारीले १ ट्रयाक्टर बालुवा सहयोग गर्नुभएको छ । यसैगरी व्यवसायी सञ्जीव श्रेष्ठले १ ट्रयाक्टर गिटी, भूपु सैनिक मिलन सहकारी संस्थाका अध्यक्ष सुधीर थापाले २ ट्रयाक्टर बालुवा, हेटौंडा–७ का क्रसर सञ्चालक शंकर चौलागाईले १ ट्रयाक्टर गिटी सहयोग गर्नुभएको पनि अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

यसअघि पनि प्याराफिट निर्माणका लागि सहयोगहरु प्राप्त भइरहेको उहाँले बताउनुभएको छ । हेटौंडा उपमहानगरपालिकासहित स्थानीय तह तथा प्रदेश सरकारबाट रंगशाला निर्माणका लागि बजेट विनियोजन हुँदा व्यक्तिगतरुपमा पनि विभिन्न व्यक्तिहरुले सहयोग प्रदान गर्दा अझै धेरै हौसला मिलेको उहाँले बताउनुभयो । प्याराफिट निर्माणको काम तिब्ररुपमा अघि बढिरहेकाले अबको २ देखि ३ महिनाभित्रमा नै पहिलो चरणमा निर्माण सुरु गरिएको लगभग ४ हजार दर्शक क्षमताको सिमेन्टको प्याराफिट र फलामको प्याराफिटसमेत निर्माण गरिसक्ने अध्यक्ष घिमिरेले दाबी गर्नुभयो । यसवर्ष आयोजना हुने मकवानपुर गोल्डकप दर्शकहरुले क्याम्पा रंगशालामै बसेर हेर्न सक्ने उहाँको भनाई छ ।