सम्मान ग्रहणपछि पुराना ग्यास व्यवसायी पिताम्बर ढकाल ।

हेटौंडाः मकवानपुर ग्यास व्यवसायी संघको नवौ वार्षिक साधारणसभा शनिबार हेटौंडामा भएको छ । साधारणसभाको अवसरमा संघले पुराना व्यवसायी पिताम्बर ढकाललाई सम्मान गर्नुका साथै मकवानपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित समितिका पदाधिकारी तथा सदस्य र सल्लाहकारहरुलाई पनि सम्मान गरेको छ ।

ग्यास व्यवसायी संघको सम्मानपछि मकवानपुर उद्योग वाणिज्य संघका पदाधिकारी तथा सल्लाहकारहरु ।

हेटौंडा–५ स्थित दक्षिणकाली मन्दिर परिसरमा आयोजित साधारणसभा संघका अध्यक्ष दिलिशगोविन्द जोशीको अध्यक्षता तथा ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालको प्रमुख आतिथ्य रहेको थियो । साधारणसभामा ग्यास विक्रेता संघ मकवानपुरका सचिव केशव मुडभरीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष कृष्ण ढुंगानाले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

आगामी दिनमा संघले प्रमाणीकरण गरेपछि मात्रै ग्यासको अधिकृत विक्रेता हुने व्यवस्था गर्ने प्रस्ताव गरेको सचिव केशव मुडभरीले जानकारी दिनुभएको छ । संघमा मकवानपुर जिल्लामा ग्यास विक्री गर्ने ६३ वटा अधिकृत विक्रेताहरु आवद्ध छन् ।