हेटौंडाः अवैधरुपमा काठ ढुवानी गरेको अवस्थामा २ जनालाई पिकअप गाडीसहित प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार राती करिब २ बजेको समयमा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा हेटौंडा–३ स्थित सडकखण्डबाट ८८.६० क्युफिट अवैध काठसहित मनहरी गाउँपालिकाको हाँडीखोलाबाट हेटौंडा–१९, बस्तीपुरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ च १२६० नम्बरको पिकअप गाडीसहित हेटौंडा–१२ का २४ वर्षीय सुशान लोप्चन र १८ वर्षीय सुदिप लोप्चनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेका व्यक्ति, बरामद अवैध काठ र पिकअप गाडीलाई प्रहरीले कारवाहीका लागि डिभिजन वन कार्यालय राप्ती मनहरीमा पठाइएको जनाएको छ ।