भुटनदेवी माविको व्यावसायिक सटर निर्माणको कार्य गरिँदै ।


हेटौंडाः हेटौंडा–४ स्थित भुटनदेवी माविले ११ वटा व्यावसायिक सटर बनाउँदैछ । विद्यालयको पूर्वी तथा पश्चिम मोहडामा व्यावसायिक सटरहरु बनाउन लागिएको विद्यालयले जनाएको छ । विद्यालयको आयका लागि सटरहरु निर्माण गर्न लागिएको विद्यालयका प्रधानाध्यापक माधवप्रसाद दाहालले जानकारी दिनुभएको छ ।

करिब ३० लाख रुपैयाँ लागतमा व्यावसायिक सटर निर्माण गर्न लागिएको हो । यसअघि भुटनदेवी माविले ३० वटा व्यावसायिक सटर निर्माण गरी भाडामा लगाउँदै आएको छ । करिब १० वर्षअघि निर्माण गरेको व्यावसायिक सटरहरुबाट भुटनदेवी माविले मासिक ३ लाख ३० हजार रुपैयाँ आम्दानी गरिरहेको छ । भुटनदेवी मावि हेटौंडा बजार क्षेत्रमा ठूलो क्षेत्रफल भएको विद्यालयको रुपमा रहेको छ ।

व्यावसायिक सटरहरु निर्माण गरी भाडामा लगाएर प्राप्त भएको आम्दानीले निजी श्रोतमा शिक्षक राख्न तथा विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक सामग्री समेत वितरण गर्न सहयोग पुगेको विद्यालयले जनाएको छ ।