हेटौंडाः लैंगिक हिंसाविरुद्व १६ दिने अभियानअन्तर्गत् बुधबार महिला हिंसा न्यूनीकरणका लागि परिवारको भूमिका शीर्षकमा वक्तृत्वकला प्रतियोगिता भएको छ । प्रतियोगितामा ज्योति माविकी विशेषता अधिकारी प्रथम भएकी छिन् । हेटौंडा स्कूल अफ म्यानेजमेन्टकी कृतिका लौडारी द्वितीय तथा आधुनिक राष्ट्रिय माविकी श्रृया खरेल तृतीय भएकी छन् ।

१७ वटा सामुदायिक तथा संस्थागत विद्यालयका २९ जना विद्यार्थीले प्रतियोगितामा सहभागी जनाएका थिए । प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ३ हजार, २ हजार र एक हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ ।

आँचल साहित्यिक कला पुञ्जकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भागवती पुडासैनीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । निर्णयकको भूमिका मनोज पोखरेल र देवराज खरेलले निर्वाह गर्नुभएको थियो । कार्यक्रमको प्रायोजन कृष्ण आदर्श बोर्डिङ स्कूलका प्रधानाध्यापक नवीन केसीले गर्नुभएको थियो । यस वर्ष लैंगिक हिंसाविरुद्वको अभियानको नारा ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ रहेको छ । आँचलको आयोजनामा प्रतियोगिता भएको थियो ।