तस्बिर गुगल


हेटौंडाः नेपाली कांग्रेस बागमती प्रदेश सभापतिको लागि इन्द्र बानियाँ र जगदिश्वर नरसिंह केसीबिच अहिले बिहान ११ः३० बजे पुनः मतदान हुने भएको छ । हिजो कांग्रेस प्रदेश सभापतिको लागि प्रतिपस्र्धा गरेका भिमसेन दास प्रधानले भने १९७ मत मात्र प्राप्त गरेका कारण बढी मत ल्याउने बानियाँ र केसीबिच मात्र पुनः मतदान हुन लागेको हो ।

आज बिहान मतगणना सम्पन्न भएको थियो । सो अनुसार मकवानपुरका बानियाँले सबैभन्दा बढी मत ९९२ ल्याएका थिए भने केसीले ८७२ मत ल्याएका छन् । उनीहरुले ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसक्दा दुवैबिच अहिले मतदान सुरु गर्न लागिएको निर्वाचन समितिका सदस्य होमराज नेपालले बताउनुभयो । कांग्रेसको विधानअनुसार ५० प्रतिशत भन्दा बढी मत ल्याउनुपर्ने बाध्यता रहेकोले बानियाँ र केसी बिच अहिले पुनः मतदान कार्य सुरु हुन गइरहेको उहाँले बताउनुभयो ।

हिजो कांग्रेस प्रदेश निर्वाचनमा २०८३ कुल मत खसेको थियो । निर्वाचन प्रदेश राजधानी हेटौंडाको फरेष्ट्रि क्याम्पसमा हुनेछ । कांग्रेसले फरेष्ट्रि क्याम्पसलाई कब्जा गरेर आफ्नो अधिवेशन गरिरहँदा एमाले निकट विद्यार्थी संगठनले भने क्याम्पस कब्जा गरेर अधिवेशन गर्नु जायज नभएको भन्दै विरोध गरिरेहका छन् ।