हेटौंडाः महिला जागरण समुहद्वारा आयोजित वडास्तरीय महिला भलिबलको उपाधी हेटौंडा–१९ को महिला भलिबल टिमले जितेको छ । शनिबार हेटौंडा–६ चौघडामा भएको फाइनल खेलमा आयोजक ‘क’ लाई ३–२ को सेटमा पराजित गर्दै हेटौंडा–१९ ले उपाधीमाथि कब्जा गरेको हो ।
पहिलो सेटमा आयोजकसँग २५–१८ अंकले पराजित हुन पुगेको हेटौंडा–१९ ले दोस्रो सेट २५–१६ अंकका साथ विजयी भएको थियो । तेस्रो सेटमा पुनः २५–१४ को हार व्यहोर्दा हेटौंडा–१९ ले चौथो र पाँचौ सेट क्रमशः २५–२१ र १५–६ अंकका साथ जीत निकाल्दै उपाधी हात पार्न सफल भएको हो । उपाधी विजेता हेटौंडा–१९ ले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको आयोजकले १० हजार रुपैयाँमै चित्त बुझाएको छ ।
यसअघि तेस्रो स्थानको लागि भएको खेलमा हेटौंडा–१७ माथि २–१ सेटको पुनरागमन जीत निकाल्दै हेटौंडा–९ को महिला भलिबल टिम तृतीय हुन सफल भएको छ । पहिलो सेट २५–२२ अंकले हार्न पुगेको हेटौंडा–९ ले लगातार २ सेटमा २५–१५ र १५–९ अंकको जीत हात पार्न सफल भयो । तृतीय भएको टिम हेटौंडा–९ ले ५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
शनिबार नै भएको सेमिफाइनल खेलमा हेटौंडा–१९ ले हेटौंडा–९ लाई र आयोजकले हेटौंडा–१७ लाई समान ३–० को सोझो सेटमा पराजित गरेको थियो ।