नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह ।

हेटौंडाः नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकको संविधानको रक्षाका लागि पनि नेपाली कांग्रेसको नेतृत्वमा परिवर्तन हुनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पार्टी सभापतिका आकांक्षी समेत रहनुभएका नेता सिंहले पार्टीभित्र नेतृत्वबाटै अन्याय भइरहेको र कांग्रेसको वर्तमान नेतृत्वलाई जनताले नपत्याएकाले पनि परिवर्तन जरुरी भएको जीकिर गर्नुभयो ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बागमती प्रदेश समितिको अधिवेशनमा जगदिश नरसिंह केसी नेतृत्वको समूहलाई विजयी गराउन अपील गर्नुहुँदै शुक्रबार साँझ हेटौंडामा नेता सिंहले आसन्न महाधिवेशनमा पार्टीको नेतृत्वमा कसलाई पुर्‍याउने भन्ने निर्णायक मत पनि बागमती प्रदेशमै रहेको स्पष्ट पार्नुभयो ।