हेटौंडाः जेसीआई हेटौंडा लेडीको जेसीज सप्ताह मंगलबार सकिएको छ । एकसाता विविध १५ वटा कार्यक्रमको आयोजना गरी जेसीज सप्ताहको समापन मंगलबार साँझ गरिएको हो ।
सदस्यबीच व्यक्तित्व र नेतृत्व विकासको नारासहित जेसीज अभियान सञ्चालित छ । जेसीज अभियानमा जेसीज सप्ताह विशेष महत्वका साथ मनाउने गरिन्छ । जेसीआई हेटौंडा लेडीले जेसीज सप्ताहको अवसरमा सुरक्षित यात्रालाई प्रोत्साहित गर्ने गरी स्लो स्कुटी प्रतियोगिता, स्कुटी तथा मयुरी चालक महिला चालकलाई सचेतना कार्यक्रम, जेसीज गाउँ घोषणा, महिला पत्रकारसँग मैत्रीपूर्ण फुटसल खेलको आयोजना गरिएको थियो । यस्तै जेसीज सप्ताहअन्तर्गत नै सस बनाउने तालिम, सेनिटरी प्याड बनाउने, हस्तकला तालिम, महिलाहरुलाई आत्मरक्षासम्बन्धी तालिम, वक्तृत्व कला प्रतियोगिता पनि आयोजना गरेको थियो ।
जेसीआई हेटौंडा लेडीकी अध्यक्ष प्रतिमा श्रेष्ठको अध्यक्षता तथा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मुक्तानको प्रमुख आतिथ्यमा समापन कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री मुक्तानले एक वर्षे कार्यकालमा पनि जेसीज अभियानले उल्लेखनीय कार्य गर्दै आएको भनी प्रशंसा गर्नुभयो । कविता पौडेलको संयोजकत्वमा सम्पन्न जेसीज सप्ताहको मंगलबार समापन कार्यक्रम ज्योति काफ्लेको संयोजकत्वमा आयोजना भएको हो । जेसीज सप्ताह समापनको अवसरमा विभिन्न प्रतियोगितामा सहभागी भई विजेता बनेका सहभागीलाई पुरस्कार वितरण समेत गरिएको थियो ।
जेसीज सप्ताहको समापन कार्यक्रममा बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष अरुण कुमार दाहाल, जेसीआई हेटौंडाका अध्यक्ष लिसेन बस्नेत, जेसीआई बसामाडीका अध्यक्ष गौतम केसी, जेसीआई हेटौंडा लेडीकी निवर्तमान अध्यक्ष सुशीला पौडेलको पनि उपस्थिति रहेको थियो ।