हेटौंडाः मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा गुणस्तरीय शिक्षालाई जोड दिइने भएको छ । गाउँपालिका अध्यक्ष जीवन लामासहित विद्यालयका प्रधानाध्यापकहरुको छलफलपछि गुणस्तरीय शिक्षाका लागि शैक्षिक सुधार गर्ने प्रतिबद्वता व्यक्त गरिएको छ ।

गाउँपालिकाका विद्यालयहरुमा शिक्षाको गुणस्तर अभिवृद्धिका लागि गाउँपालिकाले प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई शैक्षिक अवलोकन भ्रमण गराएको छ । गाउँपालिका अध्यक्ष लामाको नेतृत्वमा गरिएको अवलोकन भ्रमणका क्रममा विभिन्न क्षेत्रका नमुना तथा उत्कृष्ट विद्यालयहरूको अवलोकन गरिएको अध्यक्ष लामाले जानकारी दिनुभयो ।

भ्रमण टोलीले पोखराको अमरसिंह मावि, तानेसेनको जनता मावि तथा बुटवलको कालिका मानवज्ञान माविको अवलोकन गरेको छ । अवलोकन गरिएका विद्यालयहरुको शैक्षिक विकासलाई हेर्नुका साथै विद्यालयका सफल तथा असल अभ्यासको बारेमा जानकारी लिइएको अध्यक्ष लामाले बताउनुभयो । अवलोकनका क्रममा वृहत् विद्यालयको एउटा सेक्सनमा भएका विद्यार्थी संख्या र ईन्द्रसरोवरका केही विद्यालयका विद्यार्थी संख्या बराबर पाइएको उहाँले जानकारी दिनुभयो ।

नेपालका अन्य विद्यालयको तुलनामा पोखराका अमरसिंह मावि, तानसेनको जनता मावि र बुटवलको कालिका मानवज्ञान मावि शैक्षिक विकासमा निकै अघि रहेको दावी अध्यक्ष लामाले गर्नुभयो । ती विद्यालयमा विद्यार्थी संख्या नै अत्यधिक रहेको उहाँले बताउनुभयो । भूगोलमा फरक भए पनि शिक्षकहरुको व्यवस्थापन र ईच्छाले गुणस्तरीय शिक्षा प्राप्त भएको उहाँको भनाई थियो ।

शिक्षकको आत्मविश्वास र लगनशीलताले नै शैक्षिक विकास हुने लामाले बताउनुभयो । आर्थिक समस्याले गुणस्तरीय शिक्षामा खासै प्रभाव नपर्ने लामाले दावी गर्नुभयो । गाउँका विद्याथीलाई विहान, बेलुकाको छाक टार्न मुस्किल नभए पनि शहरका कतिपय विद्यार्थीलाई विहान एक छाक खाएर बेलुका के खाने भन्ने समस्या हुने उहाँले बताउनुभयो । तर पनि शहरकै विद्यार्थीले गुणस्तरीय शिक्षा हासिल गरिरहेको उहाँको भनाई छ ।

अवलोकन गरिएका विद्यालयमा २ हजार ५ सयदेखि ८ हजारसम्म विद्यार्थी एउटै विद्यालयमा अध्ययनरत रहेको पाइएको लामाले बताउनुभयो । अवलोकन गरिएका ३ वटै विद्यालयको शिक्षण सिकाई सहजीकरणमा भिन्नता पाइएको उहाँले जानकारी दिनुभयो । अध्यक्ष लामाका अनुसार ती विद्यालयहरुमा कार्यविभाजनअनुसार पठनपाठन भइरहेकाले कक्षागत शिक्षकको कार्यविभाजनअनुसार विद्यार्थीबीच सुमधुर सम्बन्ध कायम भइरहेको पाइएको छ ।

विद्यार्थी र शिक्षकबीच आकर्षणका साथै दैनिकरुपमा अभिभावकसमेत विद्यालयमा उपस्थित हुने गरेको लामाले जानकारी दिनुभयो । जसले गर्दा विद्यार्थीको विषयगत कमीकमजोरी सुधार्न सहयोग पुगेको उहाँको भनाई छ । यसले विद्यार्थीमा पढ्ने बानीको विकास गरेकाले त्यहाँका विद्यार्थी पढाइमा समेत अब्बल भएको दावी लामाले गर्नुभयो ।

गुणस्तरीय शिक्षाका लागि शिक्षकको जिम्मेवारी महत्तवपूर्ण हुने बताउँदै अध्यक्ष लामाले शिक्षक नै जिम्मेवार भए शैक्षिक गुणस्तर अभिवृद्वि हुने जानकारी दिनुभयो । अभिभावकमा समेत आफ्ना छोराछोरीको पढाइप्रति चिन्ता हुनुपर्ने उहाँले बताउनुभयो । अवलोकन गरिएका विद्यालयहरुमा शिक्षकको जिम्मेवारीसँगै अभिभावकको चासो र चिन्ताले गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएको लामाले बताउनुभयो ।

अवलोकन भ्रमण टोलीमा ४० जनाको सहभागिता रहेको थियो । भ्रमणका क्रममा देखिएका र सिकेका कुराहरु अवलम्बन गरेर गाउँपालिकाका विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धिमा जोड दिने अध्यक्ष लामाले जानकारी दिनुभयो । ६ गतेबाट सुरु भएको भ्रमण बिहीबार सम्पन्न भएको थियो । ईन्द्रसरोवर गाउँपालिकामा २१ वटा सामुदायिक विद्यालयमात्र छ । ९ वटा मावि र अन्य प्रावि तथा आधारभूत विद्यालयहरु छन् । ती विद्यालयमा जम्मा २ हजार ८ सय विद्यार्थी अध्यययनरत रहेको लामाले जानकारी दिनुभयो ।