जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको कार्यालय

हेटौंडाः जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको ४ महिनामा झन्डै एक करोड रुपैयाँ राजश्व संकलन गरेको छ । गत साउनदेखि कार्तिकसम्म ९३ लाख २९ हजार रुपैयाँ राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको तथ्यांकमा उल्लेख छ ।

चालु आर्थिक वर्षको साउन महिनामा १७ लाख ५८ हजार रुपैयाँ, भदौमा १७ लाख ५८ हजार रुपैयाँ, असोजमा २४ लाख ३१ हजार रुपैयाँ र कार्तिक महिनामा ३३ लाख ९२ हजार रुपैयाँ संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक प्रकाश पाण्डेले बताउनुभयो । थोरै ट्राफिक जनशक्तिबाट उल्लेख्य राजश्व संकलन गरेकोे पनि उहाँले बताउनुभयो ।

ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७६-०७७ मा १ करोड २४ लाख ७५ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । यस्तै गत आर्थिक वर्ष २०७७-०७८ मा २ करोड ७१ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो ।
चालु आर्थिक वर्षको कार्तिक महिनामा ४ हजार २ सय वटा सवारी साधनहरुलाई प्रहरीले कारबाही गरेको थियो । जसमध्ये ५ सय ८२ वटा मोटरसाइकल, २ सय वटा ट्रयाक्टर र ५ सय १ वटा अटो-मयूरीलाई कारबाही गरेको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ ।