फाइल तस्बिर ।

हेटौंडाः मकवानपुरे फुुुुुुुुुुुुुुुुुुुटबल खेलाडी सुनिल बलको दुई गोलको मद्दतमा साविक विजेता मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । काठमाडौंको दशरथ रंगशालामा जारी प्रतियोगितामा पहिलो चरणको अन्तिम खेलमा मच्छिन्द्रले न्युरोड टिम (एनआरटी) लाई २–१ गोलले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

एनआटीको तर्फबाट एरिक विष्टले गोल गरेपनि हार टार्न सकेनन् । सोमबार भएको दोस्रो खेलमा पहिलो हाफको १२ औं मिनेटमा नै सुनिल बलको गोलबाट मच्छिन्द्रले अग्रता बनाएको थियो । विशाल राईको पासमा सुनिलले गोल गर्न सफल भएका थिए । दोस्रो हाफको ५४औं मिनेटमा एरिक विष्टले फ्रिकिक मार्फत गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा ल्याए । ८०औं मिनेटमा सुनिलले दोस्रो गोल गर्दै मच्छिन्द्रलाई २–१ को अग्रता दिलाएका थिए । सुनिलले कप्तान सुजल श्रेष्ठको क्रसमा गोल गरेका थिए ।

खेलको म्यान अफ दि म्याच पनि सुनिल नै भए । उनले म्यान अफ दि म्याचको ट्रफिका साथै १० हजार रुपैयाँ प्राप्त गरेका छन् । यसअघि सोमबार नै भएको पहिलो बिभागीय डर्बी खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए ।