हेटौंडाः बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले कार्तिक महिनाको उत्कृष्ट प्रहरीको रुपमा प्रहरी नायव उपरीक्षक (डिएसपी) दक्ष कुमार बस्नेतलाई घोषणा गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा दरबन्दी भई कार्यरत बस्नेतलाई सुम्पिएको जिम्मेवारी अनुशासित ढङ्गबाट कार्यसम्पादन गरेको भन्दै महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।
बस्नेतले कार्तिक १८ गतेका दिन सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–१, खाच्र्युङमा हत्या र लुटपाटको घटनामा संलग्नलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याउन उत्कृष्ट कार्य गरेकोले सम्मान गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बागमती प्रदेश प्रहरी कार्यालयले प्रदेशभरका उत्कृष्ट प्रहरी छनोट गर्नुका साथै हरेक प्रहरी इकाईलाई हरेक महिनाको उत्कृष्ट प्रहरी छनोट गरी सम्मान गर्न समेत निर्देशित गरेको छ ।