हेटौंडाः देशकै सर्वाधिक ठूलो पुरस्कार राशि भएको शीर्ष डिभिजन लिग अर्थात् ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आज शुक्रबारबाट सुरु हुँदैछ । प्रतियोगितामा ‘बी’ डिभिजन लिगबाट बढुवा भएर पहिलो पटक ‘ए’ डिभिजन लिग खेल्न लागेको सातदोबाटो फुटबल क्लब तथा ३ विभागीय क्लबसहित १४ टिमको सहभागिता रहेको छ ।

लिगको उद्घाटन खेलमा सातदोबाटो र फ्रेन्ड्स क्लब भिड्दैछन् । नेपाली फुटबलमा महाकुम्भ मेलाको रुपमा रहेको ‘ए’ डिभिजन लिग फुटबल सिंगल राउण्डरोबिनको आधारमा खेलाइँदैछ । सबै टिम उपाधि जित्ने उद्देश्यका साथ टिमलाई बलियो बनाउँदै प्रतियोगितामा सहभागी हुँदैछन् भने साविक विजेता मछिन्द्र फुटबल क्लब उपाधि रक्षा गर्ने दबावमा रहनेछ । जसका लागि सबै क्लबहरुले देशभरबाट उत्कृष्ट खेलाडीहरुलाई अनुबन्ध गरेका छन् । क्लबहरुमा नेपाली खेलाडीमात्र नभएर विदेशी खेलाडीहरुको सहभागिताले लिगलाई अझ रोमाञ्चक बनाउने गरेको छ । यसपटक पनि कतार एयरवेज मुख्य प्रायोजक रहेको लिगको विजेताले यसपटक ७५ लाख रुपैयाँ, उपविजेताले ५० लाख रुपैयाँ तथा तेस्रो हुने टिमले २५ लाख रुपैयाँ पुरस्कार राशि पाउनेछ ।

यस सिजनको लिगमा सहभागी विभिन्न क्लबहरुबाट मकवानपुरका २१ जना खेलाडीहरुले खेल्ने भएका छन् । हाल नेपाली राष्ट्रिय फुटबल टिममा रहेका ३ खेलाडी, पूर्वराष्ट्रिय खेलाडीहरुसहित २१ जना मकवानपुरे खेलाडीहरु विभिन्न १० ‘ए’ डिभिजन क्लबमा आबद्ध भएका हुन् । जसमध्ये ६ जना खेलाडीले पहिलो पटक ‘ए’ डिभिजन क्लबमा स्थान बनाएका छन् । यस्तै यस सिजनभन्दा अगाडिदेखि नै लिग खेलिरहेका स्टार फुटबल खेलाडी अन्जन विष्टसहित १५ खेलाडीहरुमध्ये अधिकतम खेलाडीहरु पुरानै क्लबमा रहेर खेल्नेगरी सम्झौता नवीकरण गरेका छन् भने केही खेलाडीहरुले यस सिजनमा क्लब परिवर्तन गरेका छन् ।

फुटबलबाट आफ्नो नाम बनाउँदै राष्ट्रियस्तरमा समेत प्रवेश गरेका मकवानपुरे खेलाडीहरु अन्जन विष्ट, सुनिल बल, आयुष घलान, अमिर श्रेष्ठ, रन्जन विष्ट, अशोक बराल, बिमल पाण्डे, बिके लामा, रवि थिङ, सञ्जीव अर्याल, अनुराग लामिछाने, रोहित कार्की, रोशन दोङ, एन्जल महर्जन, बालकृष्ण श्रेष्ठ, मिसन लामा, सुजल श्रेष्ठ, समिराज थोकर, मनिष पौडेल, अनिष देउला र सुनिल घलानले यसपटकको ‘ए’ डिभिजन लिगमा सहभागिता जनाउने मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।

अन्जन विष्ट ।

राष्ट्रिय टिमका फरवार्ड पोजिसनका खेलाडी अन्जन विष्टले पुरानै क्लब मनाङ मर्याङ्दीमा रहेर यस सिजनको ‘ए’ डिभिजन लिग खेल्दैछन् । मकवानपुरे खेलाडी अन्जनले यसपटक मनाङको कप्तानको जिम्मेवारीसमेत सम्हाल्दैछन् । वि.सं. २०७५ सालमा मनाङबाट नै ‘ए’ डिभिजन लिगमा डेव्यु गरेका अन्जन लगातार यसै क्लबमा नवीकरण गर्दै लिग खेलिरहेका छन् ।

अशोक बराल ।

मनाङमै रहेका अर्का मकवानपुरे खेलाडी अशोक बराल गोलरक्षकको भूमिकामा लिग खेल्दै आइरहेका छन् । तत्कालीन ‘ए’ डिभिजन क्लब स्वयम्भु फुटबल क्लबबाट ‘ए’ डिभिजन लिगमा डेव्यु गरेका बरालले तत्कालीन ‘ए’ डिभिजन क्लब सरस्वती फुटबल क्लब हुँदै वि.सं. २०७५ सालबाट मनाङमा आबद्ध भएर सो क्लबको गोलपोस्ट सम्हाल्दै आएका छन् ।

सुजल श्रेष्ठ ।

यस्तै मिडफिल्ड पोजिसनका मकवानपुरे खेलाडी सुजल श्रेष्ठ नयाँ अनुहारको रुपमा यस सिजन मनाङमा आबद्ध भएका छन् । समग्रमा मनाङले मकवानपुरका ३ खेलाडीलाई टिममा समावेश गरेको छ ।

सुनिल बल ।

राष्ट्रिय फुटबल टिममा रहेका अर्का मकवानपुरे स्टार खेलाडी सुनिल बलले यस पटकको लिगका लागि साविक विजेता मछिन्द्र फुटबल क्लब रोजेका छन् । मिडफिल्ड पोजिसनमा आफ्नो जादु देखाउन अब्बल सुनिलले वि.सं. २०७५ सालमा भएको ‘ए’ डिभिजन लिगमा थ्रीस्टार फुटबल क्लबबाट डेब्यु गरेका थिए । त्यसपछि गत सिजन च्यासल युथ क्लबबाट खेलेका सुनिल यस सिजन मछिन्द्रमा अनुबन्ध भएका हुन् ।

आयुष घलान ।

राष्ट्रिय फुटबल टिममै रहेका युवा खेलाडी आयुष घलान यस सिजनमा पहिलो पटक ‘ए’ डिभिजन लिग खेल्दैछन् । गएको साफ च्याम्पियनसिपमा समेत गोल गर्न सफल मिडफिल्डर आयुषले यस सिजनको लिग थ्रीस्टार फुटबल क्लबबाट खेल्दै शिर्ष लिगमा डेब्यु गर्दैछन् ।

रन्जन विष्ट ।

विगत ११ वर्षदेखि विभिन्न ‘ए’ डिभिजन क्लबमा रहेर खेल प्रदर्शन गरिरहेका रन्जन विष्ट यस सिजन न्युरोड टिम (एनआरटी) मा आबद्ध भएका छन् । वि.सं. २०६७ सालमा विभागीय टिम एपीएफमा आबद्ध भएर खेल प्रदर्शन गरेका रन्जन २०७५ सालमा आयोजना भएको लिगमा थ्रीस्टार फुटबल क्लबमा आबद्ध भएका थिए । गत सिजन मनाङमा आबद्ध हुँदै भाइ अन्जनसँगै एउटै क्लबबाट लिग खेलेका रन्जन यस सिजन एनआरटीमा अनुबन्ध भएका हुन् ।

संजिव अर्याल (खैरे भाइ) र मिसन लामा ।

एनआरटीमा मकवानपुरका अर्का २ खेलाडीले स्थान बनाएका छन् । गत सिजन लिग विजेता मछिन्द्रमा रहेका सञ्जीव अर्याल (खैरे भाइ) यस सिजन एनआरटीमा आबद्ध भएका हुन् । वि.सं. २०७५ सालमा मछिन्द्रबाट ‘ए’ डिभिजन लिगमा डेब्यु गरेका डिफेन्डर खैरे भाइ २ सिजन मछिन्द्रमै रहँदै यस सिजन क्लब परिवर्तन गरेका छन् । यसैगरी एनआरटीमै मकवानपुरका अर्का खेलाडी मिसन लामा आबद्ध भएका छन् । यसअघिका सिजन थ्री स्टार क्लबमा रहेका मिडफिल्डर मिसन यस सिजनका लागि एनआरटी गएका हुन् ।

क्रमशः सुनिल घलान, मनिष पौडेल, समिराज थोकर, अनिष देउला र अमिर श्रेष्ठ ।

शिर्ष लिगमा सहभागी क्लबहरुमध्ये जावलाखेल युथ क्लबले सबैभन्दा बढी मकवानपुरका खेलाडी आबद्ध गराएको छ । क्लबमा मकवानपुरका नाम चलेका फरवार्ड पोजिसनका खेलाडी अमिर श्रेष्ठसहित उदयमान खेलाडीहरु आबद्ध भएका छन् । वि.सं. २०६५ सालमा थ्रीस्टार फुटबल क्लबबाट शिर्ष लिगमा खेल्न सुरुवात गरेका अमिरले सोपश्चात् एपीएफ, मछिन्द्र, मनाङ हुँदै गत २ सिजन च्यासलबाट खेलेका थिए । पहिलो पटक जावलाखेल प्रवेश गरेका अमिरले क्लबसँग १ वर्षको लागि सम्झौता गरेका छन् । क्लबले आफ्नो टिममा मकवानपुरका ५ जना खेलाडीहरुलाई आबद्ध गरेको छ । ‘ए’ डिभिजन लिगमा नयाँ अनुहारको रुपमा जावलाखेलले मकवानपुरका फरवार्ड पोजिसनका खेलाडीद्वय समिराज थोकर र मनिष पौडेल, मिडफिल्डर सुनिल घलान तथा गोलरक्षक अनिष देउलासँग ३ वर्षको सम्झौता गर्दै टिममा समावेश गरेको छ ।

बिमल पाण्डे र बालकृष्ण श्रेष्ठ ।

यसैगरी विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लबमा मकवानपुरका २ खेलाडीले ‘ए’ डिभिजन लिग खेलिरहेका छन् । आर्मीका लागि पहिलो रोजाईका खेलाडी बिमल पाण्डे टिमको डिफेन्सका खम्बा भएर मैदानमा उत्रिँदा अर्का खेलाडी बालकृष्ण श्रेष्ठले मिडफिल्ड सम्हाल्ने गरेका छन् । मकवानपुरको फुटबलमा राम्रो छाप छाडेका बिमल वि.सं. २०६५ सालमा नेपाल आर्मीमा भर्ती हुँदै आर्मीको नियमित ड्युटीसँगै नेपाली फुटबलमा राम्रो स्थान बनाउन सफल भएका छन् । राष्ट्रिय टिम र नेपाल आर्मीको टिमबाट विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेका बिमलले वि.सं. २०७५ सालबाट ‘ए’ डिभिजन लिगमा डेब्यु गरेका हुन् । यो सिजन बिमलको लागि तेस्रो सिजन हो ।

बिके लामा र रवि थिङ ।

अर्को विभागीय फुटबल क्लब एपीएफमा मकवानपुरका ३ खेलाडी सहभागी हुँदै ‘ए’ डिभिजन लिग खेलिरहेका छन् । नेपाली राष्ट्रिय टिममा रहेरसमेत खेलिसकेका खेलाडीद्वय बिके लामा एपीएफबाट फरवार्ड पोजिसनमा खेल्ने गरेका छन् भने रवि थिङले टिमको मिडफिल्ड सम्हाल्ने गरेका छन् ।

रोशन दोङ

यस्तै वि.सं. २०७५ सालमा ब्रिगेड ब्वाइज क्लबबाट डिफेन्डरको रुपमा खेल्दै ‘ए’ डिभिजन लिगमा डेब्यु गरेका मकवानपुरका युवा खेलाडी रोशन दोङ हाल एपीएफमा आबद्ध भएर लिग खेलिरहेका छन् । हेटौंडा फुटबल एकेडेमीबाट उत्पादित खेलाडी आशीष मोक्तान ‘ए’ डिभिजन लिग खेल्ने तयारीस्वरुप एपीएफमै प्रशिक्षणरत रहेका छन् । हाल आशीषको परीक्षणकाल चलिरहेको छ । उनले हालसम्म एपीएफसँग सम्झौता गरिसकेका छैनन् । गोलरक्षकको भूमिका निर्वाह गर्ने आशीषलाई लिन एपीएफ सकारात्मक भएको भएपनि उनले ‘ए’ डिभिजन लिग खेल्न पाउने वा नपाउने विषयमा भने निश्चित भइनसकेको हेटौंडा फुटबल एकेडेमीका अध्यक्ष तथा प्रशिक्षक भीम लामाले जानकारी दिनुभयो ।

अनुराग लामिछाने

विभागीय नेपाल पुलिस फुटबल क्लबमा डिफेन्डरको भूमिकामा रहेर मकवानपुरका अनुराग लामिछानेले ‘ए’ डिभिजन लिग खेलिरहेका छन् । यस्तै वि.सं. २०७५ सालमा नै ब्रिगेड ब्वाइज फुटबल क्लबमा आबद्ध हुँदै ‘ए’ डिभिजन लिगमा डेब्यु गरेका एन्जल महर्जन हाल नेपाली यु–२३ फुटबल टिमका सदस्य रहेका छन् । उनी हालसम्म पनि ब्रिगेड ब्वाइजमै रहेका छन् । उनको ‘ए’ डिभिजन लिगमा यो तेस्रो सिजन हो ।

एन्जल महर्जन र रोहित कार्की ।

गोलरक्षक रोहित कार्कीले यसपटकको लिग संकटा फुटबल क्लबबाट खेल्ने भएका छन् । यु–१४ र यु–१६ को राष्ट्रिय टिममा स्थान बनाउँदै उत्कृष्ट खेल पस्किसकेका रोहित वि.सं. २०७५ मा मछिन्द्र क्लबमा आबद्ध हुँदै ‘ए’ डिभिजन लिगमा व्यावसायिक सुरुवात गरेका थिए ।

नेपालको सर्वाधिक ठूलो र चर्चित शिर्ष लिगमा मकवानपुरका यतिका खेलाडीले स्थान बनाउनु मकवानपुर जिल्लाको लागि गर्वको कुरा भएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले बताउनुभयो । खेलाडी उत्पादनका लागि उर्वरभूमिको रुपमा रहेको मकवानपुरबाट ए डिभिजन खेल्नसक्ने खेलाडीहरु विगतका दिनदेखि हालसम्म पनि उत्पादन गर्न सक्नु मकवानपुर फुटबलको ठुलो उपलब्धी भएको उहाँको भनाई छ । पुराना खेलाडीहरुसँगै नयाँ खेलाडीहरु पनि आफ्नो क्षमताका आधारमा प्रतिस्पर्धा गर्दै लिग खेल्न पाउनु नै मकवानपुर फुटबलले मिहिनेतको फल प्राप्त गरेको महसुस भएको उहाँले बताउनुभयो ।

मकवानपुरका खेलाडीहरु लिग खेलिरहँदा खेलाडीहरुको प्रोत्साहन गर्ने काम जिल्लाबाट नै हुनुपर्ने खेलाडी अमिर श्रेष्ठले बताउनुभएको छ । यतिका खेलाडीहरुले ‘ए’ डिभिजन लिग खेल्दै मकवानपुरको नाम राख्ने काम गर्दा फुटबल संघ, स्थानीय तह तथा वडास्तरबाट नै प्रोत्साहन गर्ने कार्य भएमा अर्को सिजनमा अझ धेरै खेलाडीहरु लिगमा खेल्न सक्नेगरी उत्पादन हुने उहाँको भनाई छ ।

नयाँ जोश र उत्कृष्ट क्षमतासहित आफ्नै जिल्लाबाट नयाँ युवा खेलाडीहरु आइरहँदा उनीहरु जत्तिकै मिहिनेत गर्नुपर्ने केही चुनौती भएपनि नयाँ खेलाडीहरुले आफूहरुले भन्दा राम्रो प्रदर्शन गरेमा उनीहरुलाई आफ्नो स्थान खुसीका साथ प्रदान गर्न तयार रहेको पनि उहाँले बताउनुभयो । हाल जिल्लामा फुटबलको प्रशिक्षण शहर केन्द्रितमात्र भएकाले यसलाई भित्री गाउँहरुमा पनि पु¥याउन सकेमा अझ धेरै सम्भावना बोकेका खेलाडीहरु उत्पादन हुने खेलाडी अमिर श्रेष्ठले बताउनुभएको छ ।

फुटबलको पर्याप्त सम्भावना बोकेको मकवानपुरमा यतिका शिर्ष स्थानका खेलाडीहरु भएपनि लिग नै खेल्नेगरी व्यावसायिक क्लबको स्थापना र सञ्चालन गर्ने योजनासहितको समूहको भने अभाव रहेको छ । जिल्लाका केही क्लबहरुले पछिल्लो समय ‘सी’ डिभिजन लिग छनोट खेल्दै लिग यात्रा सुरु गर्न चाहे पनि छनोटमा सोचेअनुरुपको प्रदर्शन देखिएको छैन । यतिका खेलाडीहरु शिर्ष लिग खेलिरहँदा जिल्लामै प्रशिक्षणरत खेलाडीहरुले लिग छनोटमा राम्रो प्रदर्शन गर्न नसक्नु फुटबलका संघसंस्था तथा क्लबहरुका पदाधिकारीहरुले सोच्नैपर्ने विषय रहेको छ ।