वडास्तरीय फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रमका अथितिहरु ।

हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकामा वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । सोमबार बागमती–४, झुरझुरेमा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

४ नम्बर वडाको १ लाख ५० हजार रुपैयाँ बजेटमा आयोजना भएको प्रतियोगितामा बागमतीका ९ वटै वडाको टिम सहभागी भएको प्रतियोगिताका संयोजक मुक्ति लामाले बताउनुभयो । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती–४ को ‘ए’ टिमले वडा नम्बर १ लाई हराएको छ । आयोजक ‘ए’ टिमले १ नम्बर वडालाई ४–१ गोल अन्तरले हराएको हो ।

प्रतियोगिता नकआउट प्रणालीमा आयोजना गरिएको छ । प्रतियोगितामा दैनिक २ खेल हुनेछ । प्रतियोेगिताको फाइनल खेल मंसिर ४ गते हुने जनाएको छ । प्रतियोगितामा प्रथम टिमले नगद ६० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र र द्वितीय हुनेले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीलाई ट्रफी प्रदान गर्ने जनाएको छ । प्रतियोगिताको उद्घाटन कार्यक्रममा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, प्रमुख प्रशासकीय अधिकृत दिलिप श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।