हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका विभिन्न सडकखण्डमा तीनपांग्रे, चारपांग्रे तथा ठूला सवारी साधनलाई एकतर्फी (वान वे) प्रणाली लागु गरिएको छ । साँघुरो सडक र बढ्दो सवारी चापका कारण तीनपांग्रे, चारपांग्रे तथा ठूला सवारी साधनका लागि एकतर्फी प्रणाली लागू गरिए पनि कार्यान्वय हुन सकेको छैन । प्रहरीले नियमन गर्न छाडेसँगै एकतर्फी सडक प्रणाली प्रभावकारी हुन नसकेको हो ।
हेटौंडा–४ स्थित अजरअमररोड, स्कूलरोड र खोपेगल्लीमा दुईतर्फी रुपमै सुमो, अटो, मयूरीजस्ता मझौला सवारी साधनहरु र साना–ठुला गाडीहरु पनि चल्ने गर्छन् । पहिला यी सडकखण्डमा प्रहरीले एकतर्फी प्रणाली लागु गरिएको थियो । केही समय ट्राफिक प्रहरीसमेत खटाइएका थिए । तर अहिले यी सडकखण्डमा न त ट्राफिक प्रहरी देखिन्छ, न त व्यवस्थित पार्किङ नै भएको छ । एकतर्फी भनिएको सडकमा दुइतर्फी सवारी चलेका छन् । नो पार्किङ भनेर छुट्याइएको क्षेत्रमा सवारी साधनहरु पार्किङ गरेर राखिएको पाइन्छ । हेटौंडा बजार क्षेत्रमा रहेका सडक सँघुरा, खाल्डाखुल्डी र अव्यवस्थित पार्किङले झनै हेटौंडा बजारको कुरुप बन्दै गएको छ ।
ट्राफिक जनशक्तिको कमीले गर्दा ट्राफिक प्रहरी खटाउन समस्या भइरहेको जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रमुख प्रकाश पाण्डेले बताउनुभएको छ । मकवानपुर जिल्लामा ११ पोष्टमा अहिले ३३ जना ट्राफिक जनशक्ति रहेको बताउँदै यती ट्राफिक जनशक्तिले धान्न नसकिने उहाँले बताउनुभयो । हेटौंडा बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनका लागि ५० जना भन्दा ट्राफिक जनशक्ति आवश्यक रहेको बताउँदै त्यसका लागि उपमहानगरपालिका र सम्बन्धित संस्थाहरुमा छलफल र माग गर्दा पनि अहिलेसम्म सम्बोधन नभएको प्रमुख पाण्डेले बताउनुभयो ।