हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका ४५० जना कर्मचारी मध्ये ८ जना प्रमुख पर्व तिहारको बिदा सकिएर कार्यालय खुलेको दोस्रो दिन पनि अनुपस्थित भएका छन् । पहिलो दिन पनि अनुपस्थित भएका जनप्रतिनिधिदेखि केही कार्यालय प्रमुख, महाशाखा प्रमुखहरु नै कार्यालयमा अनुपस्थित रहेको पाइएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मिना कुमारी लामा पहिलो दिन सोमबार र दोस्रो दिन मंगलबार पनि कार्यालयमा अनुपस्थित हुनुहुन्थ्यो ।
भ्रमण, छठ पर्व, फिल्डका कारण साथै बहिरी कामको व्यस्तताले मेयरदेखि कर्मचारीहरु दोस्रोे दिन पनि अनुपस्थित भएको हेटौंडा उपमहानगरपालिकाका योजना, बजेट, सूचना तथा तथ्यांक विभाग महाशाखाका प्रमूख भिमप्रसाद तिमाल्सिनाले बताउनुभएको थियो । सामाजिक विकास महाशाखाका प्रमूख बिष्णुकुमारी लामिछाने, आर्थिक प्रशासन शाखाका प्रमूख मनोज कुमार सुवेदी र योजना तर्जुमा तथा पूर्वाधार विकास महाशाखाका लगायतका कर्मचारीहरु दोस्रो दिन पनि अनुपस्थित छन् ।
उपमहानगरमा २० वटा स्वास्थ्य इकाई र १९ वटा वडा कार्यालय भएको र धेरै संख्यामा कर्मचारीहरु फिल्डमा हुने हुँदा पनि कर्मचारी धेरै संख्यामा अनुपस्थित हुने गरेको सामान्य प्रशासन महाशाखाका प्रमुख रामकृष्ण थापाले बताउनुभयो । मेयरदेखि कर्मचारीहरु नै छठपर्वका लागि कार्यालयमा अनुपस्थित भएको उहाँले बताउनुभयो । उपमहानगरका मेयरदेखि कर्मचारीले सेवासुविधा वापत सार्वजनिक विदा बाहेक ५४ दिनसम्म विदा लिने प्रावधान छ ।
यस्तै, नापी कार्यालय मकवानपुरका ३८ जना कर्मचारीहरु मध्ये ७ जना कार्यालय खुलेको दोस्रो दिन पनि अनुपस्थित भएको पाइएको छ । नापी कार्यालयका प्रमुख नापी अधिकृत पूर्णहरि सुवेदी कार्यालय खुलेको पहिलो दिन र दोस्रो दिन पनि अनुपस्थित रहेको पाइएको छ । तोकजाँच फाँटका नापी अधिकृत माधव ढकाल पनि अनुपस्थित हुनुभएको हो । नापी कार्यालयका सर्वेक्षक विषण चौलागाईले ७ जना कर्मचारी कार्यालयमा अनुपस्थित भएको बताउनुभयो । सर्वेक्षकहरु सञ्जिव यादव, सञ्जिव ओली, पशुपति चौधरी, र अमिनहरु नरेश थारु, उषा कटुवाल र लक्ष्मी कुशुवाह दोस्रो दिन पनि अनुपस्थित भएको चौलागाईले बताउनुभयो । खरिदार मुनु शर्माले छठ पर्वका साथै टाढा घर भएर र प्राविधिक धारका कर्मचारी बढी भएकाले कार्यालयमा उपस्थित हुन नसकेको बताउनुभयो ।