लागुऔषधसहित पक्राउ परेका २ भारतीय युवा ।

हेटौंडाः ठूलो परिमाणमा लागूऔषधसहित २ जना भारतीय युवालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । बिहीबार बिहान साढे ४ बजेको समयमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले लागूऔषध डाईजेपाम, फेनार्गन र नुर्फिनसहित २ जनालाई पक्राउ गरेको हो ।

मकवानपुरको मनहरी गाउँपालिका–७ मनहरी बजारस्थित प्रहरीको चेकपोष्ट अगाडि पूर्व–पश्चिम लोकमार्गमा बीरगंजबाट चितवन तर्फ जाँदै गरेको ना ७ ख २०१९ नम्बरको यात्रुबस रोकी सुरक्षाजाँच गर्ने क्रममा बसमा सवार भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्ला मोतीहारी ग्राम आदापुर वडा नम्बर २ का २२ बर्षीय सद्दाम अन्सारी र मोतीहारी जिल्लाकै ग्राम सिसवा सौनाहा वडा नम्बर २ का १८ बर्षीय रोहान आलमलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

लागूऔषध डाईजेपाम ३०० एम्पुल ,फेनार्गन ३०६ एम्पुल र नुर्फिन ३४० एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । उनीहरुलाई हिरासतमा राखी प्रहरीले अनुसन्धान गरिरहेको छ ।