वंशगोपाल मावि हेटौंडाका प्रधानाध्यापक (प्रअ) रमेशप्रसाद लामिछाने ।

हेटौंडाः वंशगोपाल मावि हेटौंडाका प्रधानाध्यापक (प्रअ) रमेशप्रसाद लामिछानले शिक्षकले सुनाउने मात्र नभई सिकाउने प्रवृत्ति बढ्दै गएको बताउनुभएको छ । शिक्षाविद् प्रा. डा. बालचन्द्र लुईंटेलले विगतकै तुलनामा कोभिड माहामारीपछि पनि हामी शिक्षकहरु सिकाउँदैनौं, सुनाउँछौं भन्ने अभिव्यक्तिको खण्डन गर्दै लामिछानेले शिक्षकहरुले सिकाउने गरेको बताउनुभएको हो ।

भौगोलिक दृष्टिकोण साथसाथै विकासको हिसाबले पनि शिक्षकहरुले सिकाउँदैनौं भन्न नमिल्ने प्रअ लामिछानेले बताउनुभयो । प्रयोगात्मक परीक्षा, अतिरिक्त क्रियाकलापलगायत सीपमा समेत मकवानपुरका विद्यार्थीलाई शिक्षकले जोड दिएको उहाँले बताउनुभयो । शिक्षाविद् लुईंटेलले शिक्षकले सिकाउ“दैनौं भन्नु गलत रहेको लामिछानेले बताउनुभयो ।

एउटा क्षेत्रको अध्ययन र विश्लेषणले शिक्षकहरुलाई त्यस्तो भन्न नमिल्ने लामिछानेले जोड दिनुभयो । ज्ञान पढाइ, लेखाइ र सुनाइ तीन प्रकारले सिक्ने बताउनुहुँदै शिक्षकहरु विद्यार्थीलाई सिकाउनेमा तप्पर भएको उहाँले दावी गर्नुभयो । देखेर, अनुभव गरेर, पढेर पनि ज्ञान तथा सीप सिक्ने अवसर हुने उहाँले बताउनुभयो ।

नेपालमै १ सय ३० भन्दा बढी भाषा रहेको भन्दै विद्यालयमा अंग्रेजी भाषालाई बढी महत्व दिन नहुने प्रअ लामिछानेले जोड दिनुभयो । मकवानपुर जिल्लामात्र नभई अहिले नेपालमा निजी विद्यालयका साथै सामुदायिक विद्यालयले समेत अंगे्रेजी माध्यमबाट पठनपाठन गराइरहेको अवस्थामा वैदेशिक रोजगारप्रति अभिभावकको मोहका कारण आफ्ना बालबालिकालाई अंग्रेजी माध्यमप्रति अभिभावक मोहित भएको उहाँले जानकारी दिनुभयो । वैदेशिक रोजगारले शिक्षा क्षेत्रमा पनि प्रभाव पारेको लामिछानेले दावी गर्नुभयो ।

‘वैदेशिक रोजगारमा अभिभावकको मोह बढेपछि आफ्ना बालबच्चालाई अंग्रेजी माध्यमबाट पढाउने गरेको अध्ययनले देखाएको छ’, प्रअ लामिछानेले भन्नुभयो– ‘अंग्रेजी भाषामात्र नभई कोरियन, जापनिज भाषासहित अन्य भाषा सिकेर वैदेशिक रोजगारका लागि युवाहरु विदेश जाने क्रम रहेको छ ।’

अंगेजी अन्तर्राष्ट्रिय भाषा भएपनि अहिले सबै निजी तथा कतिपय सामुदायिक विद्यालयमा सबै विषय अंग्रेजी माध्यममा पठनपाठन भइरहेको छ । महंगो शुल्कलाई बेवास्ता गरेर अंग्रेजी भाषा सिक्ने नाममा विद्यार्थीको चाप निजी विद्यालयमा बढेपछि सामुदायिक विद्यालयले यस्तो कदम चाल्नुपरेको उहाँले बताउनुभयो । अनावश्यक मोह र आकर्षणले अभिभावक महंगो शुल्क तिर्न अघि बढेको प्रअ लामिछानेले जानकारी दिनुभयो । न्यून शैक्षिक शुल्कमा अध्यापन गराउने उद्देश्यले सामुदायिक विद्यालयले रहर नभई बाध्यताकै कारण अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गरेको दावी उहाँले गर्नुभयो ।

दीर्घकालीन, मौलिकता, पहिचान, विशेषताका हिसाबले मातृभाषामा शिक्षा दिनु आवश्यक रहेको उहाँले बताउनुभयो । यसले सीप विकासमा सहयोग पुग्ने बताउनुभयो । समाजशास्त्र तथा मानवशास्त्रको विषय सबै विद्यार्थीलाई पढाउनुपर्ने भन्दै अहिले विगतको मनोविज्ञानकै कारण नेपाली माध्यमका कक्षाहरु खाली हुनुका साथै विद्यालय भवन तथा संरचनासमेत मर्ज भएको प्रअ लामिछानेले बताउनुभयो । नेपाली राष्ट्र भाषा भएको बताउँदै लामिछानेले सबै सरकारी कार्यालयको कामकाजको भाषा नेपाली भएकाले यो नष्ट हुन नसक्ने दावी गर्नुभयो ।

शिक्षाविद् लुईंटेलले भने विद्यालयमा अंग्रेजी माध्यमबाट टाढाको कुरा सिक्नुलाई हामीले शिक्षा भन्यौं भन्दै आफ्नै वरपरका तथ्यलाई जोड्दै लाने कुरालाई शिक्षा भन्न नसकेको आरोप लगाउनुभयो । उहाँले यस्तो बुझाई निर्माणमा दरबार हाइस्कूलको विचारधारा सहयोगी बनेको दावी गर्नुभयो । दरबार हाइस्कूलले विदेशीको शिक्षा (अंग्रेजी) लाई नै आधुनिक शिक्षा भन्ने दृष्टिकोण बनाउँदा हामीले पत्तै नपाएको लुईंटेलले बताउनुभयो ।

१३० बढी भाषा भएको नेपालमा अंग्रेजीमात्रै स्थापित हुने जोखिम बढ्दै गइरहेको लुईंटेलले बताउनुभयो । ‘अंग्रेजी भाषाप्रति नेपाली समाजको दृष्टिकोण थाहै नपाई बनेको हो’, प्रा.डा. लुईंटेलले भन्नुभयो– ‘यसरी थाहै नपाई बनेको दृष्टिकोण सबैभन्दा घातक हुन्छ ।’ थाहा पाएर बन्ने दृष्टिकोण सच्याउँदै लान सकिए पनि थाहै नपाई बनेको दृष्टिकोण सच्याउने मौका नमिल्ने दावी उहाँले गर्नुभयो ।