Home मुख्य समाचार सरकारको आयु लम्ब्याउने प्रयासमा मुख्यमन्त्री शाक्य

सरकारको आयु लम्ब्याउने प्रयासमा मुख्यमन्त्री शाक्य

बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य

हेटौंडाः बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संविधान विपरित सरकार सञ्चालन गरिरहनुभएको छ । नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी बनेसँगै अल्पमतमा पर्नुभएकी शाक्यले अझै विश्वासको मत लिनुभएको छैन । उहाँले विश्वासको मत नलिएर सरकारको आयु बढाउन लाग्नुभएको देखिन्छ ।

बागमती प्रदेशसभालाई नेकपा एमाले विभाजन भएको जानकारी दिएको असोज २५ गते एक महिना पूूरा भइसकेको छ । संसदमा विश्वासको मत लिने प्रस्ताव दर्ता भए पनि मुख्यमन्त्री शाक्य विश्वासको मत लिन भने अझै भागिरहनुभएको छ । संविधानको धारा १८८ (२) मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने उल्लेख छ । तर, मुख्यमन्त्री शाक्यले झण्डै ४० दिनसम्म पनि विश्वासको मत लिनुभएको छैन ।

‘मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभासमक्ष प्रस्ताव राख्नुपर्नेछ’, संविधानको धारा १८८(२) मा भनिएको छ ।

त्यस्तै संविधानकै धारा १८८ (३) मा प्रदेशसभामा तत्काल कायम रहेका सदस्य संख्याको बहुमतबाट विश्वासको मत प्राप्त गर्न नसके मुख्यमन्त्री आफ्नो पदबाट मुक्त हुने उल्लेख छ । शाक्य मुख्यमन्त्री हुँदा बागमती प्रदेशसभामा एमालेका ५६ सांसद थिए । तर, १३ सांसद भदौ २ मा एमाले विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) मा लागेसँगै उहाँ अल्पमतमा पर्नुभयो । अब उहाँले १०९ सदस्यीय प्रदेशसभामा बहुमतका साथ विश्वासको मत पाउन ५६ सांसदको मत लिनुपर्नेछ ।

एकल बहुमत गुमाएकाले एमालेसँग अहिले प्रदेशसभामा जम्मा ४३ सांसद छन् । त्यस्तै नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, एकीकृत समाजवादीका १३, विवेकशील साझा पार्टीका तीन, नेपाल मजदूर किसान पार्टीका दुई, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एकजना स्वतन्त्र सांसद छन् । विवेकशील साझाका बागमती प्रदेशसभा संसदीय दलका नेता रमेश पौडेलले मुख्यमन्त्री पद लम्ब्याउने खेलमा लागेको बताउनुभयो । ‘मुख्यमन्त्री अल्पमतमा परेको असोज २५ गते एक महिना भइसक्यो । यो एक महिनाको अवधिमा विश्वासको मत लिनुपर्ने मुख्यमन्त्रीले प्रस्ताव संसदमा दर्तामात्रै गरेर पद लब्याएको देखिन्छ’, उहाँले भन्नुभयो ।

प्रदेशसभा बैठक सार्न एमालेको पत्र
बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको संसदीय दलले प्रदेशसभाको आज बिहीबारका लागि डाकिएको बैठक सार्न आग्रह गर्दै पत्र लेखेको छ । एमालेका प्रमुख सचेतक दीपक निरौलाले बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ र प्रदेशसभाका सचिव कृष्णहरि खड्कालाई पत्र लेखेर कात्तिक ११ मा मात्रै प्रदेशसभा बैठक आह्वान गर्न आग्रह गर्नुभएको छ ।

विश्वासको मत लिने समय सार्न एमालेको पत्र प्रदेससभा सचिवलाई पठाइएसँगै आज बिहीबार मुख्यमन्त्री शाक्यले विश्वासको मत नलिने देखिएको छ । संविधान विपरित सरकार सञ्चालन गरिरहेकी शाक्यले विश्वासको मत लिने मिति सार्ने रणनीति अबलम्बन गर्नुभएको छ ।

एमालेको वडाको अधिवेशन कात्तिक ६ र पालिकास्तरीय अधिवेशन कात्तिक ९ गते भएकाले प्रदेशसभामा उपस्थित हुन नसक्ने भन्दै अधिवेशन सार्न भनिएको छ । कात्तिक ४ गतेको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने तयारी गरेको भने पनि एमालेले बैठक नै सार्न आग्रह गरेको हो ।

बागमती प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)को गठबन्धनको सरकार बनाउने कसरत भइरहेको छ । नेकपा एमालेका सचेतक दीपक निरौला भने आफूहरु संविधानअनुसार नै अघि बढिरहेको दाबी गर्नुभयो । ‘हामीले अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिने प्रक्रिया सुरु गर्नुपर्ने थियो त्यो सुरु गरेका छौं’, उहाँले भन्नुभयो ।

Exit mobile version