हेटौंडाः मंगलबार निजी विद्यालयका प्रधानाध्यापकहरुसँग हेटौंडा उपमहानगरपालिकाले अन्तरक्रिया कार्यक्रम गरेको छ । बैठकमा कार्यढाँचाअनुसार शिक्षण सिकाई भइरहेको छ या छैन, ईमिस अपडेट नहुनुका कारण, विद्यालय व्यवस्थापन समिति गठन तथा विद्यालय सञ्चालन गर्दा आएको समस्याबारे छलफल भएको हो ।
हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका प्रमुख गंगाधर रिमालको सभाध्यक्षतामा कार्यक्रम भएको हो । रिमालले कोरोना भाइरस संक्रमणका कारण उपमहानगरले निजी विद्यालयको शुल्क निर्धारण नगरेको बताउनुभयो । अभिभावक तथा विद्यार्थीले विद्यालयले चर्को शुल्क लिएको भन्दै गुनासो आएको उहाँले बताउनुभयो ।
निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुबीच दशैं, तिहार र छठ पर्वपछि वृहत रुपमा उद्देश्यमूलक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने महाशाखा प्रमुख रिमालले बताउनुभयो । ३—४ वटा विद्यालयले चर्को शुल्क लिएको गुनासो आएको उहाँले बताउनुभयो ।
बैठकमा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव चौलागाईंले निजी र सामुदायिक विद्यालयले दिने शिक्षा एउटै भएको बताउनुभयो । एकता, नैतिकताका हिसाबले अघि बढ्न उहाँले आग्रह गर्नुभयो ।
बैठकमा बालजागृति बोर्डिङ स्कूलका प्रिन्सिपल विनोद सुवेदीले कडा अनुशासनभन्दा विद्यार्थीले स्वस्फूर्तरुपमा पढ्नसक्ने गरी पढाइको वातावरण हुनुपर्ने बताउनुभयो । सोमबार सामुदायिक र मंगलबार निजी विद्यालयका प्रधानाध्यापकसँगको बैठक भएको हो । बैठकले दशैं र तिहारको बीचमा विद्यालयमा पठनपाठन सुचारु गर्ने निर्णय गरेको छ । बैठकमा शिक्षा अधिकृत रामचन्द्र खड्कालगायत प्रधानाध्यापकहरुको सहभागितता रहेको थियो ।