हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार चाडपर्वलक्षित गरेर भाँडापसल देखि सुन पसलसम्मको बजार अनुगमन गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको नेतृत्वमा भएको बजार अनुगमनले १६ वटा खाद्यान्न तथा किराना पसल, १० वटा भाँडा पसल, ५ वटा सुन पसल, १० वटा पेट्रोल पम्प र ग्याँस पसल, एक उद्योग, एक ग्यारेज, ४ वटा फेन्सि पसल र ४ वटा मोबाइल पसलको अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा खाता अद्यावधिक नगरेको, नियमित बिल बिजक जारी नगर्ने तीन फेन्सि पसललाई २५ हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । यस्तै किराना पसलहरुमा म्याद गुज्रेको समाग्रीहरु जफत गरिएको छ । तीन वटा सुन पसलको सुन तौल गर्ने ढकलाई परीक्षणको लागि अनुगमनको टोलिले नियन्त्रणमा लिएको छ । ग्यारेजमा अनुगमन गर्दा राजमार्गमा बेच्न राखिएको १६ बोत्तल (१/१ लिटरको) पेट्रोल जफत गरिएको छ ।