हेटौंडाः ६६ औँ प्रहरी दिवस–२०७८ को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले ‘तपाईको माक्स खै’ अभियान संचालन गरेको छ । आइतबार मास्क अभियान कार्यक्रममा २ हजार ६ सय ५० भन्दाबढी सर्वसाधारणहरुलाई मास्क वितरण गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । कोरोनाको जोखिम कायमै रहेको, बजार क्षेत्रमा सर्वसाधारणहरु मास्क नलगाई हिँडडुल गर्दा कोरोनाको जोखिम बढ्न सक्ने भन्दै प्रहरी दिवसको अवसरमा मास्क वितरण गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

अभियानमा प्रहरी कर्मचारीहरुले जनचेतनामूलक र्‍याली, प्ले कार्ड प्रदर्शन, माईकिङ लगायतका कार्यक्रम संचालन गरेका थिए । प्रहरीले ‘तपाईको माक्स खै’ भन्ने पर्चा २ सय थान र सवारी साधानमा ७ सय थान जनचेतनामुलक स्टिकर टाँसेको छ ।

आइतबार बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश जंग कार्कीले कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय मकवानपुर, दंगा नियन्त्रण प्रहरी गण हेटौँडा, शसस्त्र प्रहरी गण मूख्यालय हेटौडा र बागमती प्रदेश विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।